सर्दु खोलामा पुल नबन्दा वर्षेनी सास्ती

नागरिक भन्छन्, वर्षौ भयो पुलको माग गरेको तर सुनुवाइ भएन

प्रकाशित मिति: 2017-08-08
भरतराज शर्मा, गणतन्त्र एफएम, धरान

साविक पाँचकन्या गाविस तथा हालको धरान उपमहानगरपालिका ५ जोड्न बगरकोटमा सेउती खोला माथि पुल बनिसकेको थियो । निराजन बस्ती नजिक काठेपुलमा पनि पक्की पुल बन्ने क्रममा छ । महादेव चोक हुँदै पानबारी जाने बाटोमा पर्ने सेउती खोलामा नयाँ पक्की पुल धमाधम निर्माण हुँदैछ ।

एउटै खोला हो सेउती । जहाँ करिब ८ किलोमिटरको दुरीभित्र एउटा पुल बनिसक्यो भने २ वटा बन्दैछ । विडम्बना, त्यही धरान उपमहानगरपालिकामा गाभिएको अर्को साविक गाविस विष्णुपादुका पुग्ने मुख्य बाटोमा भने अहिलेसम्म पुल बन्न सकेको छैन । जसले गर्दा वर्षातको समयमा सर्वसाधारणले जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ, कि त घुमेर इटहरी हुँदै यात्रा गर्नुपर्ने अवस्था छ ।

खास गरी चल्तीको धरान – चतरा सडकखण्डमा पर्ने सर्दु खोला र विष्णुपादुकाको भञ्ज्याङ जाने सडकमा पुल नहँुदा सर्वसाधारणले निकै सास्ती भोग्नुपरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बच्चाको उपचार गरेर घर फिर्दै गरेका बराह नगरपालिका ७, देवीघाटका मनोज गजमेर शुक्रबार ३ घण्टासम्म सर्दु किनारमा रोकिनुभयो । बसमा यात्रा गरिरहनुभएका उहाँ सर्दुको बाढीमा बस तर्न नसकेपछि सबै यात्रु ओरालेर बस फर्किएपछि अलपत्र पर्नुभएको हो ।

केही यात्रु जोखिम मोलेर खोला पार गर्दै गन्तव्यतिर लागे । तर, गजमेर दम्पपित्तले सानो बच्चासहित बाढीमा हेलिएर पार गर्ने हिम्मत गरेनन् । उहाँहरुजस्तै अरु थुप्रै सर्वसाधारण यात्रु सर्दु वारी र पारी अलपत्र परेका थिए । ‘सर्दुमा पुल अतिआवश्यक छ, वर्षायाममा हामीलाई सधै यस्तै दुःख हुन्छ,’ गजमेरले भन्नुभयो,‘नेताहरुले यता ध्यान दिनुपर्छ ।’ धरान–चतरा सडकखण्डमा पर्ने सर्दु खोलामा अहिलेसम्म पुल निर्माण नहुँदा हरेक वर्ष वर्षायाममा सर्वसाधारणले यसरी नै सास्ती भोग्नु परिरहेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाले बषौंदेखि पुल निर्माणको माग गरिरहे पनि सरोकारवाला निकायले यस विषयमा खासै चासो देखाएका छैनन् । बाढीमा हेलिएर पटनालीबाट धरानतिर आउनुभएकी धरान १७ की रुबी राईले भन्नुभयो,‘जनतालाई धेरै दुःख छ, तर कसैले पनि ध्यान दिएन ।’ धरान चतरा बाटो बराह नगरपालिका क्षेत्रका बासिन्दाको लागि चल्तीको बाटो हो । कोशी ब्यारेजको विकल्पमा बनेको कोशी पुल हुँदै उदयपुर जान पनि यही बाटो प्रयोग हुन्छ । तर, वर्षातमा भने यो सडकमा यातायात ठप्प हुन्छ ।

सर्दु खोला पारी पनि धरानको वडा १७ को भाग पर्छ । त्यस क्षेत्रका जनता शिक्षा, स्वास्थ्य, व्यापारलगायतको लागि धरान आउने गर्छन् । चुनावको समयमा नेताहरुले पुल बनाउने भाषण र आश्वासन दिएपनि सर्दुमा हालसम्म एउटा पनि पक्की पुल बन्न नसकेको स्थानीयको गुनासो छ । बराहक्षेत्र, विष्णुपादुका जस्ता प्रसिद्ध धार्मिकस्थल पुग्नलाई पनि खोलाले निक्कै सताउने गरेको छ ।

साउनमा बोलबम मेला भर्न आउने तीर्थालुहरुलाई चतराबाट पानी ल्याएर आउन सर्दु बाधा बन्ने गरेको छ । यता धरानको वडा नम्बर १७ का अध्यक्ष मनोज भटराई सर्दुमा पुल केन्द्रीय योजनामा पार्न पहल गर्ने बताउनुहुन्छ । नगरको बजेटबाट सम्भव नभएकोले पहल गर्न काठमाण्डौं जाने तयारीमा रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय धरान – चतरा सडकमा पुल बनाउन माटो परीक्षण भइसकेको र साविक विष्णुपादुकातर्फ जाने बाटोमा पुल बनाउन डिपिआर तयार भइसकेको बताइएको छ । तर, पुल निर्माणको लागि केन्द्रीय योजनामा पर्नुपर्ने हुन्छ ।

स्थानीय नेताहरुका अनुसार ०४६ सालदेखि अहिलेसम्म जनताले सर्दुखोलामा पक्की पुलको माग निरन्तर गरिरहे पनि पहुँच नपुग्दा सुनुवाई भएको छैन । यही क्षेत्रबाट २ पटक चुनाव जित्नुभएका एमाले नेता भिम आचार्य मन्त्री हुँदा पनि यस क्षेत्रका जनतालाई राहत पुग्ने गरि सर्दुमा पुल बन्न नसकेको स्थानीयको गुनासो छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/cc-1024x909.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/cc-1024x909.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार