नुवाकोट र रसुवा जोड्ने झोलुंगे पुल बाढीले बगायो

प्रकाशित मिति: 2017-08-05
गीता न्यौपाने, रेडियो लाङटाङ, रसुवा

नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीमा रहेको झोलुंगे पुल गएरातीको बाढीले बगाएकोे छ । फलाखु खोलामा आएको बाढीले पुलको नुवाकोटपटिको भाग बगाएको हो । 

बिदुर नगर पालिका वडा नम्वर १० को पुलको एकापटि बगाएपछि खोला वस्तीमा पस्ने खतरा बढेको स्थानीय शशीकुमार डंगोलले बताउनुभयो । 

फलाँखु खोलामा आएको बाढीले धार्मिक तथा ऐतिहासिक क्षेत्र बेत्रावतीको ऐतिहासिक झोलुंगे पुल बगाएपछि खोला वस्तीमा पस्न सक्ने खतरा बढेको हो ।   

पुलको नुवाकोटपटिको भाग भत्काएकोले तत्काल खोला नियन्त्रण नगर्ने हो भने पुलसँगै जोजिएको घरहरु समेत भत्काउन सक्ने स्थानीयले बताएका छन् । 

पुल बगाएपछि खोलाको बहाव नुवाकोट पटि बढी आएकोले बस्ती जोखिममा परेको स्थानीय गोसाईकुण्ड क्लबका अध्यक्ष सुरज लबटले बताउनुभयो ।  

७० वर्षभन्दा पुरानो यो पुल पक्की पुल बनेसगै पछिल्लो केही दशकदेखि प्रयोगविहीन अबस्थामा थियो ।

तर, आफ्नो क्षेत्रको ऐतिहासिक पुलको संरक्षण गर्नुपर्छ भन्दै केही वर्ष अघि पुल मर्मत गरिएको थियो । यस्तै बाढीले भोर्लेमा सयौं रोपनी खेत बगाएको छ भने एक झोलुंगे पुल समेत बगाएको छ । 

 

तपाईंको बिचार