उमेरले १७ वर्ष भर्खरै पुगेकी महोत्तरी बर्दिवास ७ फूलबारी टोलकी अमृता कुमारी कापरको गत माघ ९ गते विवाहको साइत जु¥यो । कान्छीबजार–९ धनुषाका रौदी कापरसँग जुरेको साइतमै विवाह पनि सम्पन्न भयो तर बेहुली अन्माउने बेलामा दाईजोमा लैनो भैँसी नै चाहिने र नपाए बेहुली नलग्ने भनेपछि अमृतासँग विवाह सम्पन्न गरे पनि बेहुला पक्षले बेहुली बनाएर आफ्नो घर लगेन ।
तराईमा दहेज भनिने दाइजो प्रथाको एउटा पछिल्लो घटना हो यो । कानुन हेर्ने हो भने दाईजोको लेनदेन गरेर विवाह गर्नेलाई कानूनले दोषी देख्छ र कारबाही हुन्छ । तर यहाँ खुल्लमखुल्ला दाइजोमै बार्गेनिङ हुन्छ । दाइजोमा लाखौं रुपैयाँ दिनुपर्ने भएपछि अमृताका बुबा रामप्रकाशले ऋण लिएर पनि नपुगेपछि ४ कठ्ठा जग्गा नै बेचेको सुनाउँदै लगेको दाइजो फिर्ता गर्ने सहमति प्रहरी समेत बसेर गरे पनि अहिलेसम्म केही फिर्ता नगरेको बताउनुभयो ।
“साढे ८ लाख जति प¥यो, रामप्रकाशले भन्नुभयो, “आफ्नो हातमा केही थिएन, ऋण खोजें, त्यतिले पनि नपुगेर ४ कठ्ठा जग्गा बेचें । म ठूलो घटनामा परें । मैले सकेसम्म दाइजो दिएकै थिएँ । बिहे भएर सिन्दुर पोते भएर पनि थप दाइजो मागेपछि मैले दिन नसक्दा मेरो छोरीको सम्बन्ध जोडिन सकेन ।”
झण्डै ४ लाख नगद र २ लाख रुपैयाँ पर्ने मोटसाइकल विवाह अघि नै केटा पक्षले लगिसकेका थिए । विवाह सकेर बेहुली अन्माउने बेला लैनो भैंसी नपाएर बेहुली छोडिएको यस्तो घटना दहेज प्रथा भित्रकै पनि अपवाद र अपराध मानिरहेका छन् परिवार र आफन्तहरु । तर बेहुली अमृता त्यति बेला दुःखी भए पनि अहिले नयाँ जोश जाँगर र आँट लिएर अघि बढिरहेकी छिन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएर कक्षा ९ मा अध्ययन गर्दा गर्दै पढाई छाडेकी अमृता त्यो घटनापछि विद्यालय भर्ना भएर पढिरहेकी छिन् । आफैं कुरीतिको शिकार भएँ तर अब यही कुरीतिविरुद्ध लाग्ने अमृताको अठोट पनि छ ।
उनले भनिन्, “हाम्रो मधेसी समुदायमा दाइजो धेरै दिनुपर्छ । दाइजोका कारण धेरै घटना पनि भएका छन् । जलाईदिन्छन्, मारिदिन्छन् । मेरो जीवनमा त यस्तो घटना भयो, सबैले साथ दिए भने म दाइजो विरुद्ध काम गर्न चाहन्छु ।”
अमृताका बुवा अहिले निकै खुशी हुनुहुन्छ । आफ्नो छोरी ठूलो घटनाबाट बचेको जस्तो लागेको छ, उहाँलाई । तर आफूले दिएको दाइजो अझै फिर्ता नपाएको उहाँको गुनासो छ ।
विशेष गरी तराई मधेसमा उमेरै नपुगेका किशोर किशोरीहरुको विवाह हुन्छ, जुन विवाहमा दाइजोकै लेनदेन पनि खुला रुपमै चलिरहेको हुन्छ । विवाहपछि पनि दाइजोकै कारण कैयौं महिलाले यातना र हिंसा भोगिरहेका छन् भने कतिपयको हत्या नै भइरहेको छ । सानै उमेरमा हुने विवाहसँगै दाइजोको लेनदेन रोक्न महिला तथा बालबालिका कार्यालय महोत्तरीले चाहिं के गरिरहेको छ त ?
महिला विकास निरीक्षक सुनिता भट्टराईका अनुसार दाइजो प्रथा अन्त्यका लागि विभिन्न समूहहरु मार्फत चेतनामूलक कार्यक्रम चलिरहेका छन् । सरोकारवाला निकाय, सरकारी र गैरसरकारी निकाय मार्फत छलफल र अन्तरक्रिया चलिरहेको छ । विभिन्न किशोरी समूहमार्फत पनि चेतनामूलक कार्यक्रम भइरहेका छन् ।
तराईका धेरै किशोरीहरुको कानुनले तोकेको भन्दा कम उमेरमै विवाह तय हुन्छ । त्यसमा पनि दाईजो प्रथाले तराइका धेरै छोरी, बुहारी प्रताडित छन् । विवाह सम्पन्न भएर बेहुलाको घर पुगे लगत्तैदेखि नै हिंसा र यातना सहनुपर्छ, कतिपयको ज्यान गइरहेको हुन्छ भने कतिपयको दाइजोका कारण कुरा नमिल्दा विवाह भइसकेपछि पनि दुलही अन्मिंदैनन् ।
दाइजो विरोधी जति अभियान चले पनि तराई मधेशमा दाइजो नदिई छोरीको बिहे नै हुँदैन भने विवाह भइसकेपछि पनि दाइजो नपुगेको बहानामा महिलामाथि मानसिक, शारीरिक यातना दिइरहेको घटना अझै कम भएको छैन ।
दाईजो नदिई छोरीको विवाह गर्न नसकिने भएकाले कयौं छोरीको गर्भमै हत्या भइरहेको पनि पाइन्छ । बालविवाह र दाईजो प्रथा अन्त्यका लागि बनेका कानुनले तराई मधेसका छोरी बुहारीलाई सुरक्षित र स्वतन्त्र बनाउन सकोस् र छोरी जन्मिदा पनि बाबुआमाले गर्व गर्न सकून् ।
तपाईंको बिचार