लमजुङ दुराडाँडाका ब्राम्हणहरुको हलो क्रान्ति

सामाजिक परिवर्तन र क्रान्तिको प्रतीक

प्रकाशित मिति: 2017-07-26
शान्ता कमली, रेडियो लमजुङ, लमजुङ

आज ६८औं हलोक्रान्ति दिवस । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हाणहरुले सामुहिकरुपमा हलो जोतेका थिए । 

ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हली प्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए । 

त्यतिबेला हलो जोत्दा त्यहाँ एक वर्षसम्म हल्लाखल्ला भयो । राणा शासनको विरोधमा हलो जोतेको आरोप लगाउँदै तत्कालिन सरकारले सामुहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हाल्यो । 

हलो जोत्नेहरुको गाउँले अरु ब्राम्हाणहरुले नै विरोध गरे । उनीहरुलाई विभिन्न उपनाम राख्दै “शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे” भन्ने गीतै बनाएका थिए । 
पहिलोपटक २००६ सालमा दुराडाँडामा हलो जोतेपछि २००८ सालसम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा पनि हलो जोत्न शुरु भयो । 

त्यसबेला हलो जोत्नेहरुलाई भात ठेगियो माईत आएका छोरी घर जान पाएनन् । घर गएका बुहारी माईत आउन पाएनन् भने उमेर पुगेका युवायुवतीहरुको बिहेसमेत रोकियो । जोतेको समयमा हेर्न जानेलाई समेत भात काढियो । 

तर अहिले भने त्यो क्रान्तिलाई समाज परिवर्तनको एउटा ठूलो प्रतीकको रुपमा लिइन्छ । ६७ बर्ष पहिले नै दुराडाँडामा छुवाछुत मुक्त बनाउन पहल भएको स्थानिय बयोबृद्ध वडाध्यक्ष कृष्णराज खनीया बताउनुहुन्छ । त्यतिबेला पण्डित तोयानाथले छुवाछुत मुक्त बनाउने अभियान थालेकाले अहिलेसम्म समाजमा भएको विभिन्न खाले विभेद र छुवाछुत पनि हटाउनुपर्ने बताउनुभयो ।

तर बाहुनले हलो जोतेको भनेर गरिएको विभेद ३ वर्षपछि हट्दै गयो । हलो जोतेको हलोक्रान्तिको धेरैले प्रंशसा गर्न थाले । पहिला जोत्ने ठाउँमा गएको थिइन भनेर ढाँट्नेहरु पनि पछि आफैं गएको भन्दै अगाडि आउन थाले । 

त्यही सँझनामा वर्षै पिच्छे लमजुङको दुराडाँडामा हलोक्रान्ति दिवस मनाइन्छ । साउन ११ गते मनाइने यो दिवसलाई राष्ट्रव्यापी बनाउँदै हलोक्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने माग लमजुङबासीको छ ।

तोयानाथ स्मृति प्रतिष्ठानका सचिव दिपक पौडेल हलोक्रान्तिलाई राष्ट्रिय दिवस र पण्डित तोयानाथलाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने बताउनुहुन्छ ।

लमजुङको दुराडाँडाको अर्चल्यानीमा पंण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले आज दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछ । 

 

तपाईंको बिचार