मान्छे व्यस्त सडक झन् अस्तव्यस्त

फोहोरले बिगार्दै जनकपुरको सुन्दरता

प्रकाशित मिति: 2017-07-24
सोबिता रिसाल
फोटोः जयन्त ठाकुर
फोटोः जयन्त ठाकुर

राजा जनकको राज्य र छोरी जानकीको जन्मथलोका रुपमा परिचित जनकपुरधामले पर्यटकिय महत्व पनि उत्तिकै बोकेको छ । पौराणिक र धार्मिक चिनारी भएको जनकपुर व्यस्त शहर पनि हो । तर शहरका गल्ली र सडक ब्यस्त मात्रै छैनन् अस्तब्यस्त पनि देखिन्छन् । 

वर्षात् भईरहँदा जनकपुरको गर्मी घट्दो क्रममा छ । नगरको बीचमा धनुषसागर, गंगा सागर, राम सागर नामका पोखरीहरु छन् । लाग्छ, जनकपुरको गर्मीलाई यीनले थोरै भएपनि शितलता दिएका छन् ।

जानकी मन्दीर दर्शन र घुम्नका लागि पुग्नेहरुको घुँईचो लाग्ने गर्छ । तर जनकपुरमा पुग्ने हरेक आगन्तुक सडक छेउछाउ थुप्रिएका फोहोर र अब्यस्थिति नालाको अगाडी नाक नछोपी हिंड्नै सक्दैनन् । तर त्यहि फोहोरको थुप्रो छेउमै पकौडा, समोसा लगायतका खानेकुरा पाकिरहेको छ ।

लाग्छ, जनकपुरबासी हतारमा छन् । उनीहरुलाई आफ्नो नगर सफा सुग्घर बनाउने फुर्सद छैन । झिंगा भन्किरहेको सडकमै बसेर खानेहरु खाईरहेका छन् पकाउनेहरु पकाईरहेका छन् ।  निजि मेडिकलमा नाम चलेका डाक्टरको होर्डिङ बोर्ड छन् । डाक्टर भेट्न विरामीको लाईन पनि उस्तै छ ।

तर छेउमै बगेको नाला र फोहोरको थुप्रो व्यवस्थित गर्नमा कसैको ध्यान पुगेको देखिदैन । बिरामी भएर उपचारका लागि आउनेहरुलाई डाक्टरले के सल्लाह देलान् ? यो अचम्म लाग्दो विषय छ ।

सडक मर्मतको काम चलिरहेको छ । जसका कारण घाम लागे धुलाम्य र पानी परे हिलाम्य हुने स्थिति छ । वर्षौ देखि जनकपुरबासीको दैनिकी यसरि नै चलिरहेको छ । तर फोहोर र अब्यबस्थित शहरको चिन्ता कसैमा देखिंदैन । न त सर्वसाधरण नत प्रशासन । जनकपुर उपमहानगरका कार्यकारी अधिकृत अर्जुन प्रसाद सुवेदी आफुले मात्रै शहर सफा गर्न सक्ने बताँउनुहुन्छ । उहाँले भन्नुभयो, आज उपमहानगरको गाडीले फोहोर उठाएर सफा गर्छ भोली पल्टै सर्वसाधारणले फेरी उस्तै गरि फोहोर फालिहाल्छन् । 

उपमहानगरका जनकपुरमा मात्रै झण्डै २ लाख मानिसको बसोबास छ । मिथिलाञ्चलको जनकपुरलाई प्रदेश नम्बर २ को सम्भावित राजधानिको रुपमा पनि हेरिएको छ । तर फोहोर व्यवस्थापन मुख्य चुनौति देखिन्छ । अव्यवस्थित फोहोरले सुन्दर शहरको इज्यत मात्रै घटाएको छैन, पर्यटक पनि घटाएको छ । 

तपाईंको बिचार