बाह्रबिसे तातोपानी सडकखण्डमा पहिरोले लार्चा पुल भाँच्चियो

तातोपानीसँगको यातायात सम्बन्ध बिच्छेद

प्रकाशित मिति: 2017-07-24
किरण थापा, रेडियो मेलम्ची सिन्धुपाल्चोक

अरनिको राजमार्गस्थित बाह्रबिसे तातोपानी सडकखण्डमा पर्ने लार्चा पुल भाँच्चिएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ३ मा अवस्थित उक्त पुलमाथि ठूलो पहिरो खस्दा भाँच्चिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

हाल प्रमुख जिल्ला अधिकारी अन्तर बहादुर शिलवालले प्रहरीसहितको टोली घटनास्थलमा पुगेर सर्तकता अपनाउन र प्रभावित क्षेत्रमा राहत उद्धारमा लाग्न सबैलाई अपिल गरेको छ ।

पहिरो पुलमाथि खसेको र जीर्ण अवस्थामा रहेको पुल भाच्चिएर भोटेकोशीले बगाएको छ । लगातारको वर्षाका कारण भोटेकोशीको बहाव तीब्र रहेको छ ।

पुल भाँच्चिएसँगै चीनसँगको व्यापारिक नाका तातोपानी जान प्रयोग हुने मुख्य सडक बन्द भएको छ ।

प्रहरीले पुल भाँच्चिएसँगै तातोपानीसँगको यातायात सम्पर्क विच्छेद भएको जानकारी दिएको छ ।

डिएपसी अधिकारीका अनुसार चीनसँगको मुख्य व्यापारिक नाका जाने मुख्य सडक अरनीको राजमार्गको लार्चा पुल भाँच्चिएसँगै यातायात सम्पर्क हाललाई विच्छेद भएको छ ।

ग्रामिण क्षेत्रबाट साना सवारीसाधन तातोपानीसम्म पुग्न सक्ने भएपनि त्यो भरपर्दो नहुने उहाँको भनाइ छ ।

हिजो साँझ ७ बजेतिर पहिरो पुलमाथि खसेको थियो भने पहिरोको भार थाम्न नसकी पुल भाँच्चिएर नदीमा पुगेको हो ।

पूर्णरुपमा ध्वस्त भएकाले तत्काल पुनःनिर्माण गर्न सकिने अवस्था नरहेको प्रतिक्रिया पनि उहाँले दिनुभयो ।

प्रहरीका अनुसार पहिरो गएको स्थानमा बस्ती नभएकाले कुनै मानविय क्षति भएको जानकारी प्राप्त भएको छैन ।

यसअघि पनि गत २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पले अरनिको राजमार्गमा ठूलो क्षति पुगेको थियो ।

 

तपाईंको बिचार