काठमान्डु । चर्को घाम । गर्मीले घर बाहिर निस्किसक्नु छैन । घोगानलाग्दै बारीका मकै सुकेकाछन् । साउन एक साता बितिसक्दा पनि खेत बाँजै छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका भुबनेश्वरीका कृषकहरु डेढ महिना यता खडेरीको मारमा छन् । कृषक मेनुका बराल खडेरीका कारण धान रोप्न नपाएकोले चिन्तित हुनुहुन्छ ।
१० किलोमिटर परको खुर्कोटमा पानी परेर भल बगिरहँदा भुवनेश्वरीका किसान पानीको आसामा आकाश हरेर बसेका छन् । ७३ वर्षिय लोक बहादुर थापाको अनुभवमा वर्खामा यति लामो खडेरी परेको पहिलो घटना हो ।
गाउँ वरिपरीका पाखामा रुख विरुवा छैनन् । कतै बिकासको नाम त कतै नबुझेर बन विनाश भएको छ । यस्तै–यस्तै कारणले त हो नि समयमा पानी नपरेको भन्नु हुन्छ स्थानीय बद्री कार्की ।
जिल्ला कृषि विकास कार्यालयले जनाए अनुसार सिन्धुलीको भुवनेश्वरी मात्रै होईन, छिमेकी सुनकोशी गाउँपालिकाको अधिकांश क्षेत्रमा खडेरीका कारण अन्नबाली र तरकारी उत्पादन हुने स्थिति देखिंदैन । किसानको समस्या सरकारलाई सुनाउँदा जवाफ चित्त बुझ्दो छैन । कृषि मन्त्रालयका सचिव डा. सुरोज पोखरेल जिल्ला कृषि विकास कार्यालय मार्फत जानकारीमा आए तत्काल राहत उपलब्ध गराउन सकिने बताउनुहुन्छ । मन्त्रालयसँग त्यस बाहेक पानी कम पर्ने क्षेत्रमा कस्तो अन्नबाली लगाउने भनेर दिर्घकालिन योजना छैन ।
बरु किसान आफैं परम्परागत अन्नबालीको विकल्प खोजिरहेका छन् । देशका अरु धेरै क्षेत्रमा पानी कम परेका कारण धान रोप्ने खेत बाझै छन् । पानी कम पर्ने क्षेत्रमा किसानले परम्परागत अन्नबालीको विकल्प खोजिरहेका छन् यस्तो बेला सरकारले त्यस्तो विकल्प दिने गरि बिउ बितरण गर्ने वा सिफारिस गने काम गर्नु पर्दछ ।
साउन पहिलो साता बितिसक्दा पनि देशका धेरै ठाउँमा रोपाई हुन सकेको छैन । आकाशे पानीको भर पर्नु पर्ने र सिंचाईको प्रयाप्त सुविधा नभएको क्षेत्रमा पानी नपर्दा ५४ प्रतिशत खेतियोग्य जमिनमा मात्रै धान रोप्न पाईएको छ ।
तपाईंको बिचार