पत्रकार महासंघका अध्यक्ष विष्टको पुस्तक विमोचन

‘लोकतन्त्रलाई संस्थागत गर्न सहयोग गर्नुहोस्’ -प्रम

प्रकाशित मिति: 2017-07-07
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताले नै लोकतन्त्रलाई टिकाउने बताउनु भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले लेख्नु भएको नेपाल प्रेस स्वतन्त्रता नामक पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा बिहिबार प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति आफू सधै प्रतिबद्ध रहेको बताउनुभयो । 
उहाँले सत्य तथ्य सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दै लोकतन्त्रलाई संस्थागत गर्ने सहयोग पुग्ने गरी अघि बढ्न सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले निर्वाधरुपमा प्रेस स्वतन्त्रताको उपयोग गर्न पाउनु पर्ने बताउनु भयो । 
पुस्तकमाथि टिप्पणी गर्दै पत्रकारिताका प्राध्यापक पी. खरेलले पुस्तक अनुसन्धानमा आधारित यो पुस्तक निकै सान्दर्भिक भएको बताउँदै मिडिया जहिले पनि निष्पक्ष रुपमा प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
पुस्तकमा लोकतन्त्र र प्रेस स्वतन्त्रता, नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताको विकास, मिडिया सम्बन्धी कानूनी व्यवस्था, नियमन प्रणालीको बारेमा विस्तृत चर्चा गरिएको छ । यस्तै नेपाली मिडियाको स्थिति र पत्रकारको सुरक्षा, मिडियामा लगानी, आर्थिक वातावरण र प्रेस स्वतन्त्रतको बारेमा पनि उल्लेख गरिएको छ ।
पुस्तकमा डा.विष्टले नेपालको संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई उदारतापूर्वक समेटिएको र सरकारी हस्तक्षेपका सम्भावनाहरुलाई धेरै हदसम्म सिमित गरेर प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई बलियो बनाइएको उल्लेख गरेका छन् । 
छापाखाना तथा प्रकाशन ऐन, राष्ट्रिय प्रसारण ऐन लगायतका कानूनहरु पुनरावलोकन नभएका कारण कानूनी प्रत्याभूतिको आधारहरु धेरै बलियो नभएको लेखकको अनुसन्धानको निश्कर्ष छ । 
लेखकले सर्वेक्षण र अन्तर्वार्ताका आधारमा कानूनी तथा नीतिगत पक्ष र अभ्यासलाई हेर्दा नेपाली प्रेसको अवस्था आंशिक स्वतन्त्र छ भन्ने पुष्टि गरेका छन् ।
प्रेस स्वतन्त्रता सम्बन्धी नीतिगत, कानूनी र व्यवहारिक क्षेत्रमा सुधार गरेर नेपाललाई प्रेस स्वतन्त्रताको दृष्टिले स्वतन्त्रको कोटीमा पुर्याउन पहल गर्न आवश्यक छ भन्दै पुस्तकमा प्रेस स्वयंले पनि सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसाथ गरी व्यावसायिक अभ्यासमा थप सुधार गर्नुपर्ने खाँचौ पनि औल्याइएको छ ।
पत्रकार, पत्रकारिताका अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी र अभियान्तका साथै पत्रकारिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीका बारेमा रुची राख्ने हरेकाका लागि उपयोगी हुने पुस्तक सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा सांङ्ग्रिला पुस्तक प्रालिले प्रकाशित गरेको हो । ३१३ पृष्ठको पुस्तकको मूल्य ४७५ रुपैयाँ छ । 

तपाईंको बिचार