तुलसीपुरको मेयर र उपमेरमा एमाले विजयी

प्रकाशित मिति: 2017-07-06
रेडियो प्रकृति, दाङ

तुलसीपुर उप महानगरपालिकामा एमालेका उमेदवार घनश्याम पाण्डे विजयी हुनुभएको छ । पाण्डेले ३ हजार ९ सय ५४ मत अन्तरले कांग्रेसका गेहेन्द्र गिरीलाई पछि पार्दै नगर प्रमुखमा विजयी हुनु भएको हो । पाण्डेले २२ हजार ८ सय ५७ मत ल्याउनुभएको थियो भने उहाँका  प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत ल्याउनु भएको छ ।

२३ वर्षको उमेरमा तत्कालीन तुलसीपुर नगरपालिकाको उपमेयर बन्नु भएका पाण्डे २० बर्षपछि पुनः तुलसीपुर उप–महानगरपालिकाको मेयर पदमा विजयी हुनुभएको हो । पाण्डे अहिले एमाले निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय उपाध्यक्ष तथा पार्टीको सहकारी तथा गरिवी निवारण विभागको केन्द्रीय सदस्य हुनुहुन्छ भने सामुदायिक वन,सामुदायिक सञ्चार, शिक्षा, बैंक तथा वित्तिय विकास, कृषि तथा बजारीकरण लगायतका क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहनु भएको छ । उहाँ सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) को पूर्व केन्द्रीय अध्यक्ष तथा रेडियो प्रकृति दाङका निवर्तमान अध्यक्ष पनि हुनुहुन्थ्यो । 

तुलसीपुर उपमहानगरको उपप्रमुखमा एमालेकै माया आचार्य विजयी हुनुभएको छ । उहाँले ८ सय ५२ मतले कांग्रेसका देविका नेपालीलाई पछि पार्दै जित हात पार्नुभएको हो । मेयरमा माओवादी केन्द्रका शेसुराम भण्डारीको ८ हजार ६ सय ९३ र उपमेयरमा ९ हजार ५१ मत आएको छ ।

तपाईंको बिचार