आज इद, इदको अवसरमा सार्वजनिक बिदा

राष्ट्रपतिदेखि दलका नेताहरुद्वारा इदको शुभकामना

प्रकाशित मिति: 2017-06-26

मुस्लिम समुदायले पवित्र एकमहिने रोजा ब्रत पूरा भएको खुशीयालीमा आज इद उल फित्र पर्व मनाउँदैछ । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन सोमबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउने गर्दछन् ।

खुशीपूर्वक दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आइतबार बेलुकी चन्द्रमा देखिएपछि सोमबार इद उल फितर मनाउन शुरु हुन्छ र त्यसको एक महिनापछि सकिन्छ ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । 

यसैबीच सरकारले इस्लाम धर्मालवम्बीहरुको पर्व इद (इदउल–फित्र) का अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपाल राजपत्र संख्या ५१, खण्ड ६५ भाग ५ मा मिति २०७३ चैत १५ गते प्रकाशित सूचना अनुसार ‘इस्लाम धर्मावलम्वीहरुको पर्व इद (इद उल–फित्र)का दिन बिदा दिने’ भनी उल्लेख भएको र यो पर्व आज पर्ने भएकाले देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
राष्ट्रपतिदेखि दलका नेताहरुद्वारा इदको शुभकामना   

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र)का अवसरमा शुभकामना दिंदै स्वदेश तथा विदेशमा रहने सबै नेपाली इस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । उहाँको सन्देशमा धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इदुल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।

यस्तै उप–राष्ट्रपति नन्दबहादुर पुनले पनि इदको अवसरमा शुभकामना दिनुभएको छ । सन्देशमा उहाँले यस पावन पर्वको माध्यमबाट मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने कुरामा विश्वास व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिनुहुँदै इतिहासको कालखण्डमा नेपाली मुस्लिम समुदायले देखाएको धार्मिक सहिष्णुता अनुकरणीय रहेको बताउनुभएको छ । शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुद बनाउन सबैलाई अभिप्रेरित बनाउन सकोस् भन्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीले पनि नेपाल र नेपाल बाहिर रहनुभएका सम्पूर्ण मुस्लिम समुदायका दिदीबहिनी दाजुभाइमा शुभकामना दिँदै सामाजिक सहिष्णुता, जिम्मेवारीबोध र राष्ट्रिय एकता आजको आवश्यकता भएकोमा जोड दिनुभएको छ । शुभकामना सन्देशमा ‘हाम्रो मुलुक विविध भाषा, संस्कृति, धर्म, समुदाय र भूगोल जस्ता कुराहरुले विश्वमै विशिष्ट रहेको भन्दै इद पर्वले यसलाई झन् सामाजिक सन्देश समेत दिनु बताउनुभएको छ ।

यसगरी राष्ट्रिय मुस्लिम आयोगले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद (इदुल फित्र) का अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामाना व्यक्त गरेको छ । यो महान् पर्वले समस्त नेपालीहरुमा धार्मिक एवम् सामाजिक सद्भाव स्थापित भई देशमा राष्ट्रिय एकता कायम हुने विश्वास लिएको आयोगले आज जारी गरिएको शुभकामना सन्देशमा उल्लेख छ । 

तपाईंको बिचार