गएरातिदेखि अवरुद्ध बनेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड बिहानदेखि खुलेको छ । सिमलटार, कालीखोला र चार किलोमा पहिरो जाँदा गएरातिदेखि बाटो अवरुद्ध भएको थियो ।
नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला, चार किलो, मुग्लिनबाट एक किलोमिटर भरतपुरतर्फ खसेको पहिरो पन्छाएपछि बाटो खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
गएराति वर्षा भएपछि ठाउँ–ठाउँमा खसेको पहिरो हटाउने काम बिहान मात्रै सुरु भएको थियो । प्रहरीले डोजर लगाएर बिहान सांढे ८ बजेबाट मात्र बाटो खुलाउन सफल भएको हो ।हिजो पहिरोले आवागमन रोकिएपछि रातिदेखि नै यस सडकखण्डमा हजारौं सवारी साधनहरु रोकिएका थिए ।
यसैबीच, यस सडकखण्डमा आइतबार आज दिउँसो पनि गाडी चलाउन दिइने भएको छ । सडक विस्तारका लागि दिउँसो १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरिने गरेकोमा रातिदेखिका गाडी रोकिदा लामो जाम भएकाले त्यसलाई खुलाउन दिउँसो पनि गाडी चलाउन दिइने चितवन प्रहरीले जनाएको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको जोखिम बढेपछि त्यसको समाधानका लागि आज आइतबार बैठक बस्ने चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।
तपाईंको बिचार