पहिरो पन्छाउन गएको प्रहरीको भ्यान पुरियो : दुईको मृत्यु, दुईजना बेपत्ता

प्रकाशित मिति: 2017-06-23

काठमाडौँ । नारायनगढ मुग्लिन सडकखण्ड अन्तरर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा न ६ मा गएराति खसेको पहिरोले प्रहरीको भ्यान पुरिंदा दुई प्रहरीको मृत्यु भएको छ । अरु दूईजना हराइरहेका छन् । प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दीपकुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दीपक थापाले सीआईएनलाई जानकारी दिनुभयो ।

भ्यानमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ रहनुभएको थियो । अन्य दुईको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  गएराति खसेको पहिरोले प्रहरीको भ्यानसँगै अर्को एउटा ट्रक पनि पुरेको छ ।

ट्रकका चालक र सहचालकलाई उद्धार गरी उपचारका लागि पठाइएको थापाले जानकारी दिनुभयो । राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना १ झ १३९० नंको भ्यान र ना ५  ख ७८२७ नंको ट्रकलाई पुरेको थियो । रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको बताइएको छ । त्यस सडकखण्डको कालीखोलाको मुखमा राति ९ः४० बजे पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए ।

त्यस ठाउँको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा अर्को पहिरो खसेको थियो । त्यो पहिरो पन्छाउन कठिन भएपछि फर्कने क्रममा मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो ।

घटनास्थलमा राति नै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापासहित सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरु पुग्नु्भएको छ । घटनास्थलमै रहनुभएका प्रहरी प्रमुख थापाले उद्धारका लागि सबै टोली तयारी अवस्थामा रहेपनि त्रिशुली खोलामा पानीको बहाब ठूलो रहेकाले समस्या भइरहेको बताउनुभयो ।

खोला किनारमा ट्रक थोरै देखिएको तर भ्यानको अवस्थाभने अझै थाहा हुन नसकेको थापाले बताउनुभयो । पहिरोका कारण दुवैतर्फ सवारीको लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन् ।

तपाईंको बिचार