दोलखा हत्या दोलखा जुँगूमा हत्या गरिएका कुलबहादुर तामाङ परिवार न्यायको खोजी गर्दै काठमाडौं आईपुगेका छन् ।
कुलबहादुरको हत्यामा संलग्न अभियुक्तहरुलाई जिल्ला अदालत दोलखाले साधारण तारेखमा रिहा गरेपछि पीडित परिवार न्यायको खोजी गर्दै राजधानी आउनु परेको उनीहरुको भनाइ छ ।
मृतककी पत्नी साङमायाले जिल्ला अदालतले हत्यामा संलग्नहरुलाई रिहा गरेपछि आफूहरु न्यायको खोजी गर्दै बाध्य भएर काठमाडौं आउनु परेको आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गुनासो गर्नुभयो ।
छोरा अशोक र छोरी संगितालाई साथमा लिएर काठमाडौं आइपुग्नु भएकी उहाँले गहभरी आँशु पार्दैै मान्छे पनि छैन, न्याय पनि नपाए के आधारले बाँच्ने ? प्रश्न गर्नुभयो ।
हत्या गर्ने हत्यारालाई तारेखमा अदालतले छोडेपछि न्याय मरेको अनुभूति भएको बताउनुभयो । अब न्याय खोज्नका लागि सघाउन पटक–पटक संचारकर्मीलाई आग्रह गर्नुभयो ।
मृतकका बुबा गोरे तामाङले माओवादी नेता देवी खड्का र विशाल खड्काकै निर्देशनमा आफनो छोराको हत्या भएको दाबी गर्दै घटनापछि गरिब भएकै कारण अदालतले पनि न्याय नदिएको गुनासो गर्नुभयो ।
पीडित परिवारले हत्यामा संलग्नहरुले धम्की दिने गरेको भन्दै त्रासले गाउँ बस्ने अवस्था नभएको । छोराछोरीको स्कूल छुटाएरै घर छोडेको बताए ।
स्थानीय तहको निर्वाचनको प्रचार अभियानमा जुटिरहेका बेला माओवादी केन्द्रका कार्यकर्ताले जुँगूस्थित रेशमडाँडामा बैशाख २६ गते राती कुलबहादुर तामाङको हत्या गरेको जाहेरी पीडित परिवारले गरिसकेको छ ।
पीडित परिवारले हत्यामा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका नेता देवी खड्का, विशाल खड्कासहित ३९ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर जाहेरी दिएपछि पक्राउ परेका ९ जनालाई समेत जिल्ला अदालत दोलखाले साधारण तारेकमा रिहा गरेपछि पीडित पक्ष न्यायको खोजीमा हिंडेका छन् ।
कुलबहादुर तामाङ आफ्ना बुबा गोरे तामाङ गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा एमालेबाट वडा सदस्यको उम्मेदवार भएपछि निर्वाचन अभियानमा जुटेका थिए ।
सोही घटनामा परी गम्भिर घाइते दिलबहादुर बुढाथोकीको उपचार भइरहेको छ । सरकारले हत्या गरिएका कुलबहादुर तामाङलाई सहिद घोषणा गरेको छ भने पीडित परिवारलाई १० लाख क्षेतिपूर्ति दिने घोषणा पनि गरेको छ ।
घटनाको छानबिन गर्न संसदीय समिति पनि गठन भएको छ ।
तपाईंको बिचार