टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको बस आज बिहान करिब ११ बजेतिर जानकी गाउंँपालिकाको वडा नं. ९ पथरैयामा दुर्घटना हुंँदा नेपाली कांग्रेसका नेता जोधीप्रसाद चौधरीको निधन भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
ना ५ ख ५३० नं. को बस दुर्घटना हुंँदा टीकापुर नगरपालिका वडा नं. १ का ४० बर्षिया चौधरीको निधन भएको हो । चौधरी नेपाली कांग्रेसबाट टीकापुर नगरपालिकाको मेयरका आकांक्षी हुनुहुन्थ्यो । उहांँ थारु कल्याणकारिणी सभा कैलालीका उपाध्यक्ष पनि हुनुहुन्थ्यो । लामो समयदेखि शैक्षिक क्षेत्रमा समेत आबद्ध चौधरीको निधनले टीकापुरबासी शोकाकुल भएका छन् ।
घाइते मध्ये चार जनालाई गम्भीर चोट लागेको छ । गाडी चालक अत्तरिया नगरपालिका ९ का धर्मसिंह पुजारा, लम्कीचुहा नगरपालिकाका वर्ष ५ की सीता विक, बांकेका ५० वर्षिया बालकुमारी मल्ल र जानकी गाउंपालिका वडा नंं १ का ६० वर्षिया रामकुमारी सुनारलाई गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । चारै जनालाई थप उपचारका लागि टीकापुर अस्पतालले नेपालगञ्ज रेफर गरेको छ ।
अन्य १२ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । गाडीमा चालक सहित १७ जना रहेको प्रहरीले बताएको छ । बसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको टीकापुर प्रहरीले जनाएको छ ।
तपाईंको बिचार