धनगढी बसपार्कको स्तरोन्नती प्रकृया सुरु

तीन निर्माण कम्पनीको बोलपत्र

प्रकाशित मिति: 2017-06-06
कमल सावद, रेडियो पश्चिम टुडे, कैलाली

धनगढी बसपार्कको स्तरोन्नतीका लागि प्रक्रिया सुरु भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय कैलालीले बसपार्कको स्तरोन्नतिको प्रकृया अगाडि बढाएको हो । नेपाल सरकारद्धारा सञ्चालित सघन शहरी विकास कार्यक्रम अन्तरगत बसपार्कको स्तरोन्नतीका लागि कार्यालयले गरेको टेण्डरमा तीन वटा निर्माण कम्पनीले बोलपत्र पेश गरेका छन् ।

राजेन्द्र रुद्रावती जेभी धनगढी, उच्चाकोटी अञ्जु मोहन जेभी धनगढी र टीडीआर कन्स्ट्रक्सन धनढीको बोल पत्र परेकोे कार्यालयले जनाएको छ । केही दिनभित्रै मुल्याङकन गरेर टेण्डर सम्झौता गरिने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रबिन्द्र बोहराले बताउनुभयो । 

बोहराका अनुसार धनगढी बस पार्कको स्तरोन्नती अन्तरगत क्षमता विस्तार गर्नका लागि करिब ३ करोड रुपैयाँ खर्च गरिने छ । पुरानो संरचनालाई व्यवस्थित गरिनुका साथै बसपार्कको बीच भागमा रहेको टिकट काउन्टर हटाईने छ । बसपार्कको पुरै क्षेत्रलाई कालोपत्रे गरिने जनाइएको छ ।

टेण्डर सम्झौतासँंगै स्तरोन्नतीको काम अगाडि बढ्छ ।’ डिभिजन प्रमुख बोहराले भन्नुभयो – बसपार्कको स्तरोन्नती भए पार्किङमा सहज हुने अपेक्षा गरिएको छ ।’ बीचको काउण्टर हटाएर छेउतिर राखिने भएकाले स्तरोन्नततिपछि अहिलेको भन्दा बढी बस अटाउने कार्यालयले जनाएको छ । 

दैनिक ५ दर्जन भन्दा बढी बस पार्किङ हुने धनगढी बसपार्क व्यवस्थित छैन । स्तरोन्नतिपछि पार्किड्डमा सहज हुने र यसले यात्रुलाई समेत सजिलो हुने बस व्यवसायी समितिले जनाएका छन् । सुदूरपश्चिममा सबै भन्दा बढी सवारी साधनको चाप रहने धनगढी बसपार्कभित्र जताजतै खाल्डाखुल्डी रहेको र बसपार्क अव्यवस्थित नभएको यात्रुको गुनासो छ ।

बसापार्कभित्र धुलो, धुँवाको समस्या सँगै वर्षायाममा पानी जम्ने हुँदा सास्ती हुने यात्रुहरु बताउँछन् । स्तरोन्नती अन्तरगत बसपार्कको पूरै क्षेत्र कालोपत्रे गरिने भएकाले धुँवा, धुलो र पानी जम्ने समस्या अब नरहने शहरी विकास कार्यालयले जनाएको छ ।

यस्तै सघन शहरी विकास कार्यक्रम अन्तरगत धनगढीको फूलबारीमा नयाँ बसपार्क निर्माणको काम पनि अगाडि बढेको कार्यालयका इन्जिनियर मोहनराज अवस्थीले बताउनुभयो । सघन शहरी विकास कार्यक्रम अन्तरगत सडक लगायत अन्य पूर्वाधार विकासका योजनालाई पनि अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षदेखि पहिलो चरणमा धनगढी, गुलरिया, महेन्द्रनगर, नेपालगञ्ज, तौलिहवा, सिद्धार्थनगर, परासी, वीरगन्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, जनकपुरधाम, सिरहा, राजविराज, इनरुवा, विराटनगर र भद्रपुर शहरमा आधारभूत पूर्वाधार आयोजना छनोट गरी सघन शहरी विकास कार्यक्रम लागू गरेको हो ।

तीन वर्षे परियोजना अन्तरगत पूर्वाधार निर्माणका लागि हरेक वर्ष ५० करोड रुपैयाँ खर्च गरिने कार्यक्रम छ । सघन सहरी विकास कार्यक्रम अन्तरगत सडक, ढल, खानेपानी नवीकरणीय उर्जा, बसपार्क, मनोरञ्जन पार्क, शिक्षा–स्वास्थ्य क्षेत्रका आयोजना संचालन हुनेछन् । 

शहरी विकास तथा भवन निर्माण विभागले तराई मधेसका जिल्ला सदरमुकामलाई आर्थिक र व्यावसायिक केन्द्रको रूपमा विकास गरी आधुनिक शहरमा रुपान्तरण गर्ने उद्देश्यले कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ । 

तपाईंको बिचार