कुरीति विरुद्ध सीआईएनको विशेष अभियान

महिनावारीः भ्रम र वास्तविकता

प्रकाशित मिति: 2017-05-22
राजन रुचाल

पशु चौपायका लागि बनाईएका गोठ जस्ता देखिने घरहरु सुदुर पश्चिमका पहाडी जिल्लामा प्रशस्तै देखिन्छन् । ति छाउघर हुन् । छाउपडी अर्थात महिलाहरु महिवारी भएका बेला बस्न बनाईएका घर ।

धेरै छाउ गोठ त भत्किईसके तर अझै पनि धेरै भत्काउन बाँकी नै छ । महिनावारी हुँदा छुन नहुने कुप्रथाका कारण अलग्गै बस्न बनाईएका यस्ता घर पशु चौपायका लागि बनाइएका गोठ भन्दा तल्लो स्तरका छन्

छाउपडी व्याप्त अछाम जिल्लामा धेरै महिलाको छाउगोठमै मृत्यु भएको घटनाले  पत्रकार लोकसरी कुँवरलाई यस बिरुद्ध लाग्न उत्प्रेरित गर्यो । उहाँ अहिले महिनावारीका बारेमा लेख रचना लेख्दै आउनुभएको छ । 

अछाम र सुदुरपश्चिमका जिल्ला मात्र होईन, धर्म र संस्कारका नाममा गाउँ शहर जताततै  छाउपडी व्याप्त छ । छाउपडी बार्ने कुसंस्कारबाट काठमान्डुका सम्भ्रान्त परिवार पनि अगल छैनन् । तर महिनावारी हुनु प्राकृतिक प्रकृया हो । यो महिलाका लागि गर्वको विषय पनि हो भन्नुहुन्छ, खानेपानी तथा सरसफाई समन्वय परिषद्का निर्देशक एवं महिनावारी सरसफाईका विषयमा जानकार गुणराज श्रेष्ठ । 

महिनावारी प्राकृतिक प्रकृया हो । महिनावारी हुनु आमा बन्न तयार हुनु हो । यसलाई अपबित्र मान्नेहरुमा चेतनाको कमी छ । रजश्वलाका समयमा महिलाको योनीबाट बाहिर बग्ने रगत अर्थात रजलाई अपवित्र भन्नु कत्तिको बुद्धिमानी हो । गर्भवति भएपछि त्यही अपवित्र भनेको रगत बाहीर आउन छोड्छ अर्थात रजश्वला रोकिन्छ र त्यहि रगतबाट गर्भले भ्रुणको रुपमा बढ्दै मानव जिवन बन्दछ ।

यस्तो पवित्र कुरामा भएको गलत भ्रमलाई हटाउनलाई बिभिन्न अभियान चलेका छन् । महिनावारी अभियानका एक जना अभियान्ता यबलक्ष्मी श्रेष्ठ महिनावारीको २८ दिने चक्रका बारेमा जानकारी दिने गरि बनाईएको हातमा लगाउने चुरा बाँडेर चेतना फैलाईरहनुभएको छ । 

महिनाबारी सुदुर र मध्यपश्चिमा मात्रै होईन राजधानी र सबै सहरी क्षेत्रमा पनि बार्ने गरेको पाईन्छ । हुन त नेपालमै यस्ता समूदाय पनि छन्, जसले महिनावारी नै बार्दैनन् । न पाठ पुजामा रोकतोक । न भात भान्छामा बन्देज । तामाङ समूदायको यो अनुभव धेरैका लागि सकरात्मक र नौलो कुरा हो । पत्रकार सन्चु कुमारी ब्लोन, तामाङ समुदायमा महिनावारीको समुदायमा बार्ने र कुनै पनि किसिमको रोकतोक नरहेको बताउनुहुन्छ । 

महिनावारी लैंगिता नभएर मानवता सवाल भएको कतिपय अधिकारकर्मीको बुझाई छ । महिनावारीलाई अपबित्र मानिनुमा धर्म संस्कार, अशिक्षा नै प्रमूख कारण हुन् । छाउपडी उन्मूलनका लागि २०६५ सालमै निर्देशिका समेत बनेको छ । सुदुरपश्चिममा छाउगोठ भत्काउने अभियान समेत चल्यो । अब हरेकको मनबाट छाउपडी अथवा महिनावारीका विषयमा नकरात्मक धारणा हटाउने अभियानको खाँचो छ ।  सामुदायिक सुचना नेटवर्क सीआइएनले पनि यसको विरुद्धमा विषेश  अभियान चलाएको छ । 

 

तपाईंको बिचार