धादिङ । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा हिजो राती एमाले कार्यकर्ताको हत्या भएको छ । पिलभञ्ज्याङमा बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरिएको र त्रिपालसँगै जस्तापातालेसमेत छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी सोही स्थानमा रगत लतपतिएको अवस्थामा भेटिएको छ । सोही घरसँगै रहेको रेशम चेपाङको पसल फोरेर सामान लुटिएको सोही गाउँका प्रदीप श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यायलले जनाएको छ ।
केही दिनदेखि लक्ष्मण चेपाङ र उनका भाइलाई भोट नहालेमा मार्ने धम्की आइरहेकाले सोही आधारमा हत्या भएको मृतकका भाइ लालबहादुर चेपाङको भनाई छ । यसैगरी, मतदान सकिएपछि नीलकण्ठ नगरपालिका–५ देयरालीमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा एमालेका ४२ वर्षीय राजेन्द्र थापामगर, २५ वर्षीय ललितबहादुर थापामगर र १९ वर्षीय गणेशबहादुर थापामगर र नेपाली काँग्रेसका २४ वर्षीय रामबहादुर थापामगर रहेका छन् ।
हिजो मतदान सकिएपछि साँझ घर फर्किने क्रममा झडप भएको थियो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
तपाईंको बिचार