सडकमा ट्राफिक लाईट छ काम गर्दैन

पैदल यात्रीदेखि सवारी चालकलाई पनि समस्या

प्रकाशित मिति: 2017-05-12
सुजना ढकाल

काठमाण्डु । राजधानीको व्यस्त चोक मध्येको एक कोटेश्वर । व्यस्त सडक अनि व्यस्त यात्री । गन्तव्यमा पुग्न सबैलाई हतारो हुन्छ । यो चोकमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक सङ्केत बत्तीहरु पनि उपलब्ध छन् तर काम लाग्ने एउटै छैनन् । यसले पैदल यात्रुलाई समस्या पारेको छ । 

विद्यर्थी सम्झना केसी भन्नुहुन्छ “ट्राफिक लाईटले काम नै गर्दैन । एक्लै बाटो काट्न डर लाग्छ त्यसैले म प्राय अरुसँगै समूहमा नै बाटो काट्ने गर्छु ।”  उहाँ जस्तै दैनिक रुपमा बाटो वार पार गर्ने हजारौ यात्रुहरु असुक्षरित तरिकाले बाटो काट्न  बाध्य छन् । 

बाटो काट्दा एक त निर्धक्कको साथ काट्ने नसकिने र अर्कोतिर ज्यान नै जोखिममा राखेर काट्नु पर्ने बाध्यता रहेको बताउनुहुन्छ अर्का पैदल यात्री उत्सव खतिवडा “बाटो काट्दा गाडी हुईकाई रहेको हुन्छ । ट्रफिक लाईट पनि छैन, सबै समयमा ट्राफिकहरु पनि हँुदैन । कुन आधारले बाटो काट्ने ? एक्सिडेन्ट होलाकी भन्ने डर भईरहेको हुन्छ ।”

१० बर्षको अवधिमा उपत्यकामा सवारी दुर्घटनाका कारण १ हजार ४ सय  ८७ जनाले ज्यान गुमाए । हरेक वर्ष उपत्यकामा हुने सवारी दुर्घटनाको संख्या बढ्दो क्रममा देखिन्छ । त्यसको एउटा कारण जेब्राक्रसमा ट्राफिक संकेत बत्ती नहुनु पनि हो । यसले जनमानसमा मात्र नभएर सवारी चालकलाई समेत अप्ठ्यारोमा पारेको छ ।

विश्वमा ट्राफिक बत्ती जडान भएको ४७ वर्षपछि नेपालमा ट्राफिक बत्तीको सुरुवात भएको हो । तर प्रभावकारी ढङ्गले काम गर्न नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या पर्नुका साथै दुर्घटना समेत हुने गरेको छ । सवारीको अत्यधिक चाप हुने स्थानमा ट्राफिक बत्ती नहुँदा झनै समस्या भएको ट्राफिक प्रहरीहरु बताउँछन् । बिग्रिएका बत्तीहरु नयाँ बोलपत्र आह्वान नभएसम्म नबन्ने र दिगो शहरी विकास मन्त्रालयले गरेपछि मात्र बन्ने बताउनुहुन्छ ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र बहादुर मल्ल ।

ट्राफिक सङ्केत बत्ती व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयले खाका तयार पार्ने काम  गरिरहेको छ । तर ट्राफिक सङ्केत बत्ती जडानको काम आफुहरुको नभएको, ट्राफिक लाईट  महानगरपालिका हेर्ने र त्यसको सम्पूर्ण व्यवस्थापन ट्राफिकले गर्ने बताउनुहुन्छ मन्त्रालयका प्रवक्ता रमेश प्रसाद सिंह ।

सुरक्षित यात्रा हरेकको अधिकारको विषय हो । तर सरकारी स्तरमै काम कस्ले गर्ने भन्ने अन्यौलता देखिन्छ । यसले एकातिर काम अगाडि बढ्न सकेको छैन भने अर्कातिर आम यात्रुहरु माथि असुरक्षा बढाईरहेको छ ।

उपत्यकाका सडकमा सवारी चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापनका लागि ट्राफिक संकेत बत्ति राखिएको १४ वर्ष बित्यो । जापनिज सहयोगी निकाय (जाइका) को सहयोगमा २२ छुट्टा छ्ट्टै स्थानमा राखिएका ट्राफिक संकेत बत्तीले काम गर्न छाडेको सात वर्ष बितिसक्यो । यसले सवारी चालकसँगै यात्रुलाई पनि अप्ठ्यारो परेको छ । 
 

तपाईंको बिचार