आज बुद्ध जयन्ती, सार्वजनिक बिदा

किरात समुदायको उभौली पर्व पनि आजै

प्रकाशित मिति: 2017-05-10

आज वैशाख शुक्ल पूर्णिमा, २५६१ औँ बुद्ध जयन्ती । गौतमबुद्धप्रति आस्था राख्दै मनाउने गरिएको छ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्ध हुनुभयो ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति ¥याली निकालिन्छ । 

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

किरात समुदाय उभौली पर्व मनाउँदै

आजै किरात समुदायले पनि उभौली पर्व मनाउँदैछन् । किराँत समुदायमा लोकप्रिय चण्डी नाच सुस्वास्थ्य, दिर्घायु र समृद्धिको कामना गर्दै नाचिने महत्वपूर्ण नाच हो ।

प्रकृतिका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्न बाली राम्रो होस्, पृथ्वीमा खाद्यान्नको अभाव नहोस भन्दै यो पर्व मनाउने गरिन्छ ।

राष्ट्रपति, प्रधानमन्त्रीको सन्देश  ।।
राष्ट्रपति विद्यादेवी भण्डारीले २५६१ औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहने सबैलाई शुमकामना दिनुभएको
छ 

शुभकामना सन्देशमा उहाँले सङ्घीय संरचनामा आधारित समावेशी, समानुपातिक एवम् लोकतान्त्रिक समाज तथा द्रूत र आर्थिक, सामाजिक विकास, दीगो शान्ति, सुशासन एवम् समृद्धितर्फ उन्मुख हाम्रो देशमा विविध जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउने अभियानमा गौतम बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि पे्ररणादायी एवम् अनुकरणीय रहेको बताउनुभएको छ । 

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको कार्यान्वयनार्थ सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन तोकिएको मितिभित्रै सम्पन्न गर्नुपर्ने राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । बुद्ध जयन्ती तथा किराँत जातिको उभौली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले मुखैमा आएको निर्वाचनलाई सम्बन्धित सबै पक्षबाट उत्साहका साथ सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको विकल्प नरहेको बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि २५६१औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शुभकामना सन्देश दिनुहुँदै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएकाले विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो भन्नुभएको छ । प्रधानमन्त्रीले बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्न र सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि दिनुभएको छ । 

यस्तै प्रमुख दलका शीर्ष नेताहरुले पनि बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा शुभकामना दिएका छन् ।

 

तपाईंको बिचार