पहिलो चरणका लागि झण्डै पचास हजार उम्मेदवार

झण्डै दुई हजार प्रमुखका दाबेदार

प्रकाशित मिति: 2017-05-06

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा गरी झण्डै ५० हजारले उम्मेदवारी दिएका छन् । 

पहिलो चरणमा  निर्वाचन हुने तीन प्रदेशअन्तर्गत ३४ जिल्लाका दुईसय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार सात सय ५४ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्ष तथा प्रमुखमा एकहजार नौ सय ४३, उपप्रमुख तथा उपाध्यक्षमा एक हजार चार सय ४५, वडाध्यक्ष १० हजार नौ सय ६० रहेका छन् । 

यस्तै दुई वडा सदस्यमा १८ हजार छ सय ८४, महिला वडा सदस्य नौ हजार एक सय ३९, दलित महिला वडा सदस्यमा सात हजार पाँच सय ८३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । स्थानीय तहको १३ हजार पाँच सय ५६ पदका लागि उम्मेदवारी परेको हो ।

सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाका आठ सय ८७ र सबैभन्दा कम मनाङ जिल्लाको नारफु गाउँपालिकामा २३ जनाको उम्मेदवारी दर्ता भएको छ । 

यस्तै पोखरा–लेखनाथ महानगरपालिकामा आठ सय ६५, भरतपुर महानगरपालिकामा सात सय  र ललितपुर महानगरपालिकामा छ सय ३८ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ता गराएकामध्ये एक हजार चार सय ९८ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ । 

 

तपाईंको बिचार