विश्व प्रेस स्वतन्त्रता दिवस

प्रेस स्वतन्त्रता उल्लंघनको घटना केही कम

प्रकाशित मिति: 2017-05-03

विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी नेपाल पत्रकार महासङ्घको आयोजनामा देशभर मनाईंदैछ । 

दिवसको अवसरमा बिहान राजधानीमा महासंघको नेतृत्वमा प्रभातफेरि भएको छ । प्रभातफेरि बानेश्वरबाट सुरु भई माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।
‘संवेदनशील समयका लागि संवेदनशील विचार :शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ भन्ने नाराका साथ यो दिवस आज विश्वभरका पत्रकारहरुले मनाउँदैछन् ।

कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले अझै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गर्न नसकेको बताउनुभयो । उहाँले संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरे पनि विभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेको बताउनुभयो । अध्यक्ष विष्टले नेपालमा संवैधानिक दृष्टिले तुलनात्मकरूपमा अहिले  प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यसअनुसार पत्रकारलाई सुरक्षितरूपमा काम गर्ने वातावरण बन्न नसकेको बताउनुभयो । 

प्रेस स्वतन्त्रता उल्लंघनका घटना

महासंघका महासचिव उजिर मगरले यसवर्ष ७१ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको जानकारी गराउनुभयो । 

उहाँका अनुसार पत्रकारमाथिको दुव्र्यवहारको १६ घटना भए भने पत्रकार पक्राउ ११ र पत्रकारमाथिको आक्रमणका ११ वटा घटना भएका छन् । 

त्यसैगरी, पत्रकारमाथि धम्कीका सात, सञ्चार क्षेत्रमा क्रियाशील सङ्घसंस्थामा तालाबन्दी तथा कब्जाका सात र छ जना पत्रकारलाई समाचार संकलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रभातफेरिमा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, प्रेस सेन्टर नेपालका पूर्वमहासचिव ओम शर्मालगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो । 
महासंघको संचार अनुगमन इकाईमा दर्ता भएका घटनामो पत्रकारमाथिको दुव्र्यवहार बढी हुने गरेको देखिएको छ ।

केही समय प्रकाशन प्रसारण बन्द गराइएका ४ वटा, अवरोधको १ वटा, सञ्चारगृहमा आक्रमणका २ वटा र सञ्चारमाध्यम माथि धम्कीको १ वटा घटना रेकर्ड भएका छन् ।

त्यस्तै पत्रकारको साधनमाथि आक्रमणका २ वटा घटना भएका छन् भने ६ जना पत्रकारलाई समाचार संकलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको थियो । 
केही सञ्चारमाध्यमबाट पत्रकारलाई निस्काशन गरिएका घटना पनि महासंघको अभिलेखमा दर्ता भएका छन् । 
अघिल्लो वर्षको यही समयमा प्रेस स्वतन्त्रता हननका १३९ घटनाहरू भएका थिए । संख्यात्मक हिसावले हेर्दा यो वर्ष पत्रकार तथा सञ्चार क्षेत्रमा केही सुरक्षित देखिन्छ । यद्यपि प्रबृत्तिगत आधारमा भने प्रेस स्वतन्त्रता हननका साथै दण्डहिनता र सेल्फसेन्सरसीप कायमै रहेको अवस्था छ । 

 

नीतिमा संचारक्षेत्र 

त्यसैगरी नीतिगत अवरोधमा यो वर्ष सरकारले जारी गरेको अनलाइन निर्देशिकालाई लिइएको छ । जसले अनलाइन सञ्चारमाध्यमको स्वतन्त्रतालाई संकुचित गर्ने प्रयास गरेको संचारकर्मीहरुले बताए 
राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी हुनु यस अवधिमा प्रेसको विकासका लागि महत्वपूर्ण उपलब्धी बन्न पुगेको छ । 

तपाईंको बिचार