उम्मेदवारको मनोनयन दर्ता आज बिहान १० बजेदेखि

मतदान गर्न १२ दिन बाँकी

प्रकाशित मिति: 2017-05-02

स्थानीय तह पहिलो चरणको चुनावका लागि आज उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ । मनोनयन बिहान १० बजे शुरु भएको साँझ ५ बजेसम्म समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका वा नगरपालिका केन्द्रमा मनोनयनपत्र दर्ता गर्न सकिनेछ ।

मनोनयनका लागि सबै तयारी पूरा भइसकेको आयोगले जनाएको छ । मनोनयन दर्ता गर्दा लामो प्रक्रिया हुने भएकाले समयमै केन्द्रहरुमा पुग्न पनि प्रवक्ता शर्माले सुझाव दिनुभएको छ । 

के के चाहिंन्छ मनोनयनका लागि ?

मनोनयन दर्ताका लागि उम्मेद्वारले नेपाली नागरिकताको प्रतिलिपी, सम्बन्धित वडा वा स्थानीय तहको मतदात नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी तिरेको रसिद, प्रस्तावक र समर्थकको हस्ताक्षार, राजनीतिक दलको भए पार्टीको आधिकारिक छाप अनिवार्य चाहिन्छ । त्यस्तै धरौटीका लागि वडा सदस्यले ५ सय रुपैयाँ, वडा अध्यक्षले एक हजार रुपैयाँ र गाउँपालिका तथा नगरपालिकाको प्रमुख र उपप्रमुख तथा मेयर र उपमेयरका लागि १५ सय रुपैयाँ तोकिएको छ । 
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले लैङ्गिक र समावेशी नीतिका आधारमा निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने अल्पसङ्ख्यक, दलित र महिलाको मनोनयन दर्तामा भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभएको छ । 

निर्वाचन कार्यतालिका 

पहिलो चरणको निर्वाचन कार्यतालिका अनुसार आयोगले आजै साँझ ५ बजेतिर मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको सूचि प्रकाशन गर्नेछ ।

दर्ता भएका उम्मेद्वारको बारे कुनै उजुरी दिनुपरे भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ भने त्यही दिन निर्वाचन अधिकृतको कार्यालयले मनोनयन पत्र जाँच गर्ने छ ।

यस्तै पर्सी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन हुनेछ । नाम फिर्ता लिन चाहने उम्मेद्वारले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म नाम फिर्ता लिनुपर्ने हुन्छ ।

२२ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । 
प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका ४ वटा महानगरपालिकासहित दुई सय ८३ स्थानीय तहमा यही वैशाख ३१ गते पहिलो चरणको चुनाव हुँदैछ ।

प्रमुख ३ दल मुख्य ठाउँमा उम्मेदवार टुंग्याउने अन्तिम गृहकार्यमा 

विभिन्न ठाउँमा उम्मेदवार टुंग्याउन बाँकी रहेकाले प्रमुख दलहरु उम्मेदवारको नाम छनौटका लागि बिहानैदेखि गृहकार्यमा छन् ।

कांगे्रस, एमाले र माओवादी केन्द्रले महानगरपालिकासहित विभिन्न नगरपालिकाहरुमा उम्मेदवारको टुंगो लगाउन बाँकी छ ।

बिहान १० बजेदेखि मनोनयन दर्ता भएकाले त्यसअघि उम्मेदवारको टुंगो लगाउने गरी तिनै दलहरु आ आफ्नो छलफलमा रहेको ती दलका नेताहरुले बताएका छन् ।

काठमाडौं महानगरपालिकामा कांगे्रस र एमाले दुवैले मेयर र उपमेयर दुवैको नाम टुंगो लगाउन बाँकी छ । ललितपुर महानगरपालिकामा पनि एमाले र माओवादी केन्द्रले उपमेयरको टुंगो लगाउन बाँकी रहेकाले छलफल भइरहेको छ । 

तपाईंको बिचार