छोरा छोरी नहुँदाको पीडा सुनाइसक्नु छैन । भेट्न आउनेहरु कोही नहुँदा मन दुख्ने उहाँको दुखेसो छ ।
काठमान्डु । आज माता तिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । सबैले मिठा मिठा परिकार र नयाँ कपडा दिएर आमाको मुख हेर्दै आर्शिवाद लिए । तर पशुपति वृद्धाश्रमका आमाहरुलाई छोरा छोरीको न्यास्रो मात्रै लागेन, आजको दिन खल्लो पनि लाग्यो ।
काभ्रेका चित्र कुमारी अर्यालका दूई छोरा र एक छोरीका छन् । बुहारीसँग व्यवहार नमिल्दा तीन वर्ष देखि उहाँको बास पशुपति स्थित वृद्धाश्रममा छ ।
विहे गरेको दूई वर्षपछि पति गुमाउनु भएका मोरङ विराटनगरका महालक्षमी श्रेष्ठ शुरुका दिनमा माईतीमा बस्नुभयो । आमा बुबा छउन्जेल सबै ठिकठाक नै थियो । तर आमा बुबा वितेपछि भाई बुहारीसँग मन मिलेन । एक वर्षअघि पशुपतिको वृद्धाश्रममा छोडेर फर्किएको भाई आजसम्म भेट्न नआउँदा उहाँको मन खिन्न हुन्छ ।
एक सय वर्ष पुग्न लाग्नुभएका लिलाकुमारी ठकुरी पनि यहि आश्रममा बसेको १५ वर्ष वित्यो । छोराछोरी नभएपछि उहाँका श्रीमानले अर्की बिहे गर्नुभयो । कान्छी श्रीमतीले भएको सम्पति सबै लिएर हिंडेपछि लिलाकुमारी र उहाँका श्रीमान यहि आश्रममा बसे । श्रीमानको पनि निधन भयो । छोरा छोरी नहुँदाको पीडा सुनाइसक्नु छैन । भेट्न आउनेहरु कोही नहुँदा मन दुख्ने उहाँको दुखेसो छ ।
आमाको मूख हेर्ने दिन पशुपति वृद्धा आश्रममा फलफूल लिएर आउनेहरुको भीड नै लाग्छ । त्यहि भीडमा हुनुहुन्थ्यो, पुनमाया कारन्जीत । उहाँ आमाहरुको सेवा गर्न पाउँदा खुशी लाग्ने बताउनुहुन्छ ।
आफु भोको पेट बसेर हुर्काएका सन्तानसँग बुढेसकालमा टाढिनुको पीडा सहिसक्नु छैन । वृद्धाश्रमको एउटा कुनामा कोहि भेट्न आउने आशमा बसेका आमाहरु मन मनै रोईरहेका थिए । कोख र काखमा खेलेर हुर्किएकाहरु बुढेसकालको साहरा बन्न नसक्दा आमाहरु हाँस्न सकेका छैनन् ।
तपाईंको बिचार