हर्न निषेध : विस्तारै कम हुँदै हर्न बजाउने बानी

प्रकाशित मिति: 2017-04-18
ज्योति श्रेष्ठ

भक्तपुरको दूधपाटीबाट गुडेको एउटा बसले पुरानो बसपार्कसम्म आइपुग्दा एक पटक पनि हर्न बजाएन । गाडीका चालक दिपक पुरीलाई सरकारको यो कदम राम्रो लागेको छ तर हर्न बिना सवारी चलाउँदा निकै सावधानी अपनाउनु पर्ने उहाँको अनुभव छ । 

आकस्मिक अवस्थाका लागि बजाउन निषेध नगरिएकाले सावधानी अपनाए हर्न निषेध गरेर खासै फरक नपर्ने उहाँको भनाइ छ । 

कतिपय सवारी चालक भने सरकारको हर्न निषेध गर्ने कदमप्रति सन्तुष्ट छैनन् । त्यसै मध्येको एक हुनुहुन्छ, सुरेश कासुला । हर्नको विकल्प  बिना, हर्न निषेध गर्नु उचित नभएको उहाँको तर्क छ । 

कतिपय यात्रुहरु नै पनि हर्न निषेध गरिँदा दुर्घटनाको जोखिम बढ्ने हो कि भन्ने लागेको बताउँछन् ।

सरकारले हर्न निषेधभन्दा पनि यसको उचित प्रयोगमा ध्यान दिनुपर्ने तथा  पैदल यात्रु र बाटोको अवस्था ठिक राख्नुपर्ने यात्रु राधा पौडेलको भनाइ छ ।

विद्यालय, अस्पताललगायतका स्थान वरपर हर्न निषेध र गति सिमित भनेर लेखिएको हुन्छ । तर सवारी चालकले यस्तो कुराको ख्याल गरेको पाईंदैन भने कतिपय अवस्थामा अनावश्यक हर्न बजाउँदै ओभरटेक गर्ने प्रवृत्ति रोक्न पनि हर्न निषेध गरिएको हो ।

हर्न निषेध भनेको आकस्मिक बाहेकमा मात्र हो, महानगरीय ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र बहादुर मल्ल भन्नुहुन्छ, ‘अनावश्यक ठाउँ र तिब्र गतिमा लैजानेहरुले हर्न बजाइरहने भएकाले त्यस्तो अवस्थाका लागि रोक लगाइएको हो ।’

राजधानीका साँघुरा भित्री सडकहरुमा सवारी चलाउनेहरु भने अलि तोकिएको आकस्मिक बाहेकका अवस्था पनि नबजाइ नहुने कतिपयको अनुभव छ । विशेष गरी बिहान सडकमा ‘मर्निङ वाक’ गर्नेहरुले बाटै छेकेर हिंड्ने गर्दा अप्ठ्यारो हुने बताउँछन् । 

सरकारले नयाँ वर्षको सुरुवातसँगै यो अभियान सुरु गरेको हो । यो ४/५ दिनमा सडकमा सवारी साधनले हर्न बजाउन निकै कम गर्दै लगेको र विस्तारै कम गर्ने बानी बस्दै जाने ट्राफिक प्रहरी प्रवक्ता मल्ल बताउनुहुन्छ ।

यो अभियानले राजधानीको ध्वनी प्रदूषणमा कम गर्न र सवारी साधनको गतिमा पनि नियन्त्रण हुने अपेक्षा गरिएको छ । 

तपाईंको बिचार