डिएसपी विरुद्ध उजुरी दिने महिला प्रहरी झन् तनावमा

डिएसपी उपर छानबिनको जिम्मा इन्सपेक्टरलाई

प्रकाशित मिति: 2017-04-18
भिम सिजापति, ध्रुवतारा एफएम, दैलेख

कार्यस्थलमा दुव्र्यवहार गरेको आरोपमा जिल्ला प्रहरी प्रमुख (डिएसपी) विरुद्ध विभागमा उजुरी दिएकी एक महिला प्रहरीले उल्टै मानसिक तनाव भोग्नुपरेको छ ।

नौमूले इलाका प्रहरी कार्यालयमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत रेखा कुँवरले आफ्नै हाकिम डिएसपी केदार रजौरेविरुद्ध दुव्र्यवहारको आरोप लगाउँदै भेरी अञ्चल प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

उहाँले प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका इकाई र मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयलाई बोधार्थसहित दुई साता अघि उजुरी दिनुभएको थियो ।

अञ्चल प्रहरी कार्यालयबाट छानविनका लागि पुगेको टोलीले समेत पुर्वाग्रही भएर उल्टै गाली गरेको कुँवरले गुनासो गर्नुभयो ।

कुँवरले हाकिम र छानविन टोलीबाट आफूले तनाव झेल्नु परेको बताउनुभयो । म्यादी प्रहरी भर्ना छनौट स्थलमा डिएसपी रजौरेले बिना गल्ती हातपात गरेको उहाँको आरोप छ ।

विभागले पीडितलाई न्याय दिनुको साटो उल्टै तनाव दिएको भन्दै महिला प्रहरी सेलका जवानहरुले समेत असन्तुष्टि जनाएका छन् ।

सार्वजनिक स्थलमा हातपात गर्ने हाकिमलाई विभागले जोगाउने काम गरेको महिला प्रहरीहरुको आरोप छ । तर अञ्चल प्रहरी प्रमुख (एस.एस.पी.) महेशविक्रम शाहले उजुरीमाथि छानविन टोलीले छानबिन गरिरहेको जानकारी दिनुभयो ।

डिसएसपि विरुद्ध इन्सपेक्टरले छानबिन गर्लान् ?

घटनाको छानविनका लागि अञ्चल प्रहरीका इन्सपेक्टर हरिहर खड्काको संयोजकत्वमा तीन सदस्यीय टोली बनाईएको छ ।

तर डिएसपीको छानविनमा इन्सपेक्टर पठाउनुलाई धेरैले आश्र्चय मानेका छन् । प्रहरीको ‘चेन अफ कमाण्ड’ मा तल्लो दर्जाको (इन्सपेक्टर) ले माथिल्लो दर्जाको (डिएसपी) उपर कसरी छानबिन गर्लान् र ?

यस प्रकारको छानबिनलाई अधिकारकर्मीहरुले पनि विश्वास गर्न नसकिने बताएका छन् 

 

तपाईंको बिचार