सिन्धुपाल्चोकमा महिला नेताको चर्चा ‘उप’ मा मात्रै

प्रमुखमा पुरुषकै नाम

प्रकाशित मिति: 2017-04-14
देवराज सुवेदी, रेडियो मेलम्ची सिन्धुपाल्चोक

स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलभित्र उम्मेदवारको चर्चा पनि चुलिँदै गएको छ । प्रमुख पदहरुमा चर्चा हुँदा महिलाको नाम कुनै पनि पार्टीले पारेको पाईंदैन । 

स्थानीय तहको प्रमुख वा उपप्रमुखमा एक महिला अनिवार्य भएपनि सबैजसो राजनीतिक दलले महिला नेतृत्वलाई ‘उप’ मै सीमित राख्ने देखिएकाले महिला नेताको खासै चर्चा हुन नसकेको हो । 
तीन नगरपालिकासहित १२ स्थानीय तह रहेको जिल्लामा कुनै पनि तहको प्रमुखमा महिलाको नाम चर्चामा छैन । 
केही समय अघि मेलम्ची नगरपालिकाको मेयरमा एमाले नेता भगवती नेपालको नाम चर्चामा आउन नपाई उपमेयरमा दाबेदार भन्न थालिएको छ । 
नेपाल दशकौंसम्म राजनीति गरेर ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बन्नुभएको थियो । त्यस्तै, हेलम्वु गाउँपालिकाको प्रमुखको दाबेदार एमाले नेता डोल्मा तामाङको चर्चा पनि सेलाउँदै गएको छ । तामाङ पहिलो संविधानसभाका सदस्य समेत हुनुहुन्छ ।
यस्तै, बाह्रबिसे नगरपालिकामा प्रमुखको दाबी गर्दै आउनुभएकी नेपाली कांग्रेसका नेता लीला नेपाललाई पार्टीले निकै पछाडि धकेलिदिएको छ । 
अहिले नेपालको भन्दा कांग्रेस नेता बालकृष्ण बस्नेत र भर्खरै शिक्षक पेशावाट अवकाश लिएका यमवहादुर बस्नेतको चर्चा चुलिएको छ । दुई दशकभन्दा बढी राजनीतिमा संलग्न नेपाल भने आफ्नो उमेद्वारी कायम रहेको बताउनुहुन्छ ।

सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा एमालेवाट सोम सापकोटा, इन्द्र नेपाल र ईश्वरी श्रेष्ठको नाम अगाडी छ भने सीता थापा र बालकुमारी सापकोटाको नाम उपमेयरको चर्चामा रहेका छन् । नेपाली कांग्रेसका नेता यज्ञ दंगालको नाम अगाडि आएपछि कांग्रेस नेता शोभा उलकको चर्चा उपमेयरमा हुन थालेको छ ।
यसैगरी माओवादी केन्द्रमा युवराज दुलालको मात्र चर्चा छ तर, कुनैपनि महिला उमेद्वारको चर्चा छैन । 
यो हिसाबले माओवादी केन्द्र र कांग्रेसको संयूक्त उमेद्वारी पर्ने आँकलन गर्न समेत गर्न थालिएको छ । चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपमेयरमा मात्र महिला उमेद्वारलाई उभ्याउने देखिएको छ । पुष्कर ढुंगेलको नाम अगाडि रहेको सो पार्टीमा सुन्तली ढुंगेल दोस्रो वरियतामा उभिने निश्चितप्राय देखिन्छ ।

यसैगरी, बलेफी गाँउपालिकामा माओवादी केन्द्रवाट अमृता नेपालको चर्चा छ भने सुनकोशी गाँउपालिकामा नेपाली कांग्रेसका नेता लक्ष्मी पौडेलको चर्चा छ । त्यस्तै लिसंखु पाखर गाँउपालिकामा एमाले नेता हेमगंगा तामाङ र जुगल गाउँपालिकामा माओवादी केन्द्रकी अम्बिका नेपालको नाम अगाडि छ ।

तपाईंको बिचार