आजदेखि मतदाता परिचयपत्र छपाइ शुरु गरिने

मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृत पनि आज नियुक्त गर्ने

प्रकाशित मिति: 2017-04-02

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली र मतदाता परिचयपत्रको छपाइ सुरु गर्ने तयारी गरेको छ ।

आयोगले एक करोड ४० लाखभन्दा बढी मतदाता भएको अनुमान गरे पनि ठ्याक्कै तथ्यांक आज सार्वजनिक गर्ने र यससँगै परिचयपत्र छपाइको काम पनि शुरु गर्ने जनाएको छ । 
आयोग प्रवक्ता सुर्यप्रसाद शर्माले छपाईको अन्तिम तयारी भइरहेको छ संभवत आजैबाट शुरु गरिने सीआईएनलाई जानकारी दिनुभयो ।

यसअघि हिजो प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पनि आजैदेखि मतदाता परिचयपत्र छपाइको काम शुरु हुने बताउनु भएको थियो ।

आयोगले मतदाता परिचयपत्र छपाइ गर्नका लागि आयोग परिसरमै अत्याधुनिक प्रविधिका मेसिनसहित कटिङ गर्ने र लेमिनेसन गर्ने मेसिन जडान गरिसकेको छ । परिचयपत्र छपाइको जिम्मा पाएको ओम्नी बिजिनेस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) का जेनेरल म्यानेजर पारस केसीले पनि मतदाता परिचयपत्रको छपाइका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

परिचयपत्र छपाइका लागि छाप्ने मेसिन, कटिङ मेसिन र लेमिनेसन गर्नका लागि आवश्यक पर्ने ५० वटा मेसिन तयारी अवस्थामा राखेको जनाइएको छ । मतदाता नामावलीको छपाइ भने आयोगले आफ्नै छापाखानामा छाप्ने तयारी गरेको छ ।  

स्थानीय तह निर्वाचनका लागि ७४४ वटा स्थानीय तहमा निर्वाचन प्रयोजनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृत पनि आज नियुक्त गर्ने प्रमुख निर्वाचन आयुक्त यादवले बताउनु भएको छ । आज बस्ने बैठकले ७५ जना मुख्य निर्वाचन अधिकृत र ६६९ जना मतदान अधिकृत नियुक्त गर्ने तयारी आयोगले गरेको छ ।  

 

तपाईंको बिचार