सिलाईबुनाईले बढायो आम्दानी, सीपले जगायो साहस

प्रकाशित मिति: 2017-04-01
लिलप्रकाश चन्द

काठमाडौँ । दुर्घटना, चोटपटक लागेर शारीरिक रुपमा अशक्त हुनेवित्तिकै आफूलाई कम्जोर ठान्ने प्रबृत्रि धेरैमा हुन्छ । तर आफ्नो स्वास्थ्यअवस्था अनुकुलका सीप सिकेर सिलाइबुनाइका कामबाट आर्थिक रुपमा बलियो बन्न सकिन्छ भन्ने उदाहरण स्याङ्जाका दुर्गा परियारको कामबाट पाउन सकिन्छ। प्रष्टसँग कान सुन्नुहुन्न तर सिलाईबुनाईमा उहाँ पोख्त हुनु भएको छ ।

सात वर्षदेखि झोला बुन्ने, धागो रङ्ग्याउने लगायतका काम गरेर दूर्गाले महिनामा चारपाँच हजार रुपैँया कमाउनु हुन्छ । पोखराको नयाँगाउँका खिलकुमारी श्रेष्ठलाई सिलाइका लागि खुट्टाले साथ नदिए पनि महिलाहरुले लगाउने फराक, वानपिस, झोला लगायतका सामग्री बुन्ने र शुभकामना आदानप्रदानका लागि कार्ड बनाउन समस्या छैन । 

पोखराको नयाँगाउस्थित हरियोखर्क अस्पताल परिसरभित्रको हस्तकला केन्द्रमा दुर्गा र खिलकुमारीजस्ता ६/७ जना महिलाहरु दिनहुँ आउजाउ गर्नेक्रम चल्छ ।

हाडजोर्नीको समस्या भएका, मेरुदण्ड पक्षघात, कुष्ठ प्रभावितहरुका लागि सुरुमा केन्द्रले बिभिन्न प्रकारका तालिम दिने र तालिम लिएपछि उनीहरुले सिलाइबुनाइ गरेका सामग्री खरिद गर्छ ।

म्याग्दीका पवित्रा विकलाई जन्मजात नै मेरुदण्ड पक्षघात भएपछि उपचारका लागि उहाँ अस्पताल आउनुभयो । उपचारगर्दै सिलाइबुनाइको तालिम लिएर केन्द्रमा हातले बुन्ने काम गर्दै आउनु भएको छ। स्याङ्जाकी नर्मादेवि गुरुङले काम नपाएर भौँतारीरहेको बेला पाँचवर्षअघि तान चलाउन सिक्नुभयो । अचेल महिलाहरुको लागि सोल बुन्ने, झोलाको तान, फिता बुन्ने काम गर्नुहुन्छ ।

अस्पतालमा उपचार गराउन आएका तर हात र खुट्टाको माध्यमबाट केही गर्न चाहानेका लागि निशुल्क तालिमको समेत व्यवस्था गर्ने गरिएको छ ।

हस्तकला केन्द्रका इन्चार्ज तथा प्रशिक्षक अम्रिता गिरी तिमल्सिना उपचारका लागि आएकाहरुलाई तालिम दिएर उनीहरुलाई सीप सिकाउने र जीवनप्रति आशाबादी बनाउन पाएकोमा खुशी व्यक्त गर्नुहुन्छ। तालिम लिएका महिलाहरुले सिलाएका र बुनेका सामग्री जाँच गरिसकेपछि केन्द्रको पसलमा राख्ने गरिएको उहाँको भनाइ छ ।

माग धेरै आएको बेला १५ देखि २० जना महिलाहरु हस्तकला केन्द्रमा आएर सिलाईबुनाई गर्छन् भने अरु बेला तीनदेखि पाँच जनाले काम गर्दै आएका छन् ।

उनीहरु ज्यालदारी भए मासिक दस हजार र काम अनुसारको पारिश्रमिक लिनेहरुले पाँच हजारसम्म आम्दानी गर्ने गरेको आईएनएफ नेपालको आईएफएस परियोजना संयोजक दीपेन्द्र पहरीले जानकारी दिनुभयो । केन्द्रबाट उत्पादन गरिएको ह्स्तकला केन्द्रभित्रैबाट, पोखराको लेकसाइडमा रहेको प्रदर्शनी कक्ष र देशविदेशमा समेत निर्यात हुनेगरेको छ । 

यससम्बन्धी रिपोर्ट सुन्न तलको लिङ्कमा जानुहोस्ः

https://soundcloud.com/user-687894481/report-lilprakash-chand-pokhara

तपाईंको बिचार