दुईवटा कोठा ६ कक्षा, पढ्न समस्या पढाउन सास्ती

प्रकाशित मिति: 2017-03-30

नुवाकोट । भरखरै बनेको चिटिक्क परेको भवन । पहेलो रङ टाढैबाट प्रष्ट देखिने । कोठा पनि फरासिला छन् । तर एउटा कोठामा तीनवटा कक्षा–विद्यार्थीहरु असजिलो गरेर बसेका छन् । त्यही कोठामा शिक्षकहरु पालैपालो उनीहरूलाई कखरा सिकाउँदै छन् । उत्तरपूर्वी नुवाकोटको –सुन्दरादेवी गाउँपालीकामा रहेको जनजगृती प्राविमा पुग्ने वित्तिकै यस्तै देखिन्छ ।   

भूकम्पले विद्यालय भवन भत्किएपछि लामो समय विद्यालय छाप्रोमा बस्यो । बल्ल–तल्ल वल्डभिजन इन्टरनेशनलको सहयोगले तीन कोठाको भवन त बन्यो तर दुई कोठामा ६ कक्षा पढाउनुपर्दा सास्ती भने उस्तै । 
बाल शिक्षादेखि कक्षा २ सम्म एउटा कोठामा र ३ देखि ५ सम्म अर्को कोठामा सँगै राखेर पढाउने पर्ने बाध्यता छ । दुईवटा कक्षमा गरि विद्यार्थीको संख्या ३२ छ । कोठा अनुसार विद्यार्थीको संख्या धेरै होइन तर एकै ठाउामा राखेर पढाउनु पर्दा समस्या भएको विद्यालय प्रशासनको भनाई छ ।

‘विद्यार्थीका लागि कोठा सानो त होइन । तर, छुट्टाछुट्टै पढाउनुपर्ने विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँदा अर्को कराउने, अर्कोलाई पढायो अर्को रोइरहने, पढाइ बिथोलिएको छ।’ बालशिक्षाका शिक्षक भगवान पाण्डेले भन्नुभयो । उहाँ भन्नुहुन्छ ‘एउटालाई पढाउँदा अर्कोले हल्ला गर्ने शिक्षकहरुलाई पनि थामथुम गर्दैको हैरान । ’ 
पढाउन पनि समस्या विद्यार्थीलाई बुझ्न पनि समस्या ।

विद्यालयका प्रधानाध्यापक दीपकप्रसाद सिटौला भन्नुहुन्छ समस्याबाट उम्किन उपाय खोज्दैछौ अर्को विकल्प नहुँदा जसो–तसो चलाउनै पर्ने बाध्यता छ । ‘भूकम्प गएको बर्षमा नै वल्डभिजनले ठूलो गनु लगायो अहिले बालवालीका ओतमा छन् तर तीनवटा कोठा मध्ये एउटामा कार्यालय राख्नै पर्यो’ सिटौलाले भन्नुभयो, ‘बाँकी रहेका दुईवटा कोठामा बालशिक्षा सहित ६ कक्षा निकै कठिन भएको छ ।’ 

भूकम्पबाट ३१ जिल्लामा ७ हजार ९ सय २३ विद्यालय भत्किएका छन् । त्यसमध्ये अति प्रभावित १४ जिल्लामा मात्रै ५ हजार ३ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन् । बर्षा, हिउँद हुँदै फेरि बर्षा नजिक आउँदैछ । बैशाखमा जेठमा चल्ने हुरी बतासबाट बालवालीका र अस्थायी टहरा जोगाउने विद्यालय प्रशासनलाई चिन्ता छ  ।

बालवालीकालाई जोगाउन विद्यालय प्रशासनसँग अविभावक पनि हातेमाले गर्दैछन् उपाय भेटिएको छैन । जनजगृती प्राविका अविभावक गोविन्द न्यौपाने जिल्लादेखि केन्द्रसम्म पहल भइरहेको जानकारी दिनुभयो । भूकम्प प्रभावित जिल्लाका अहिले पनि अस्थायी विद्यार्थीहरु पढी रहेका छन् ।

यसबर्षको माध्यामिक शिक्षा परीक्षा पनि टहरामा नै सञ्चालन गरिएका छ । भूकम्प गएको २ बर्ष पुग्न लाग्दा विद्यालय भवन बनिसकेका छैनन । दातृ निकाकाय, समुदाय वा कुनै सरकारी गैर–सरकारी सहयोगमा बनेका भवन अप्रयाप्त हुँदा बालवालीको पढाई असजिलो बनेको छ । 

त्रिशुलीबाट कबिर २ हजार माथि रहेको त्यस गाउँमा जनजाती, क्षेत्री, बाहुनको सामुहिक बसोबास रहेका छ ।  डाँडामा रहेको विद्यालय नजिकै बाँसका घारीहरु छन् । बारीका कान्लामा बोट विरुबाहरु पनि देखिएका छन् । अविभावकको पहलमा तिनै काठहरुको प्रयोग गरेर बनाउन सकियो अस्थायी भवनतिर भने ध्यान गएको पाइएन । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार