यस्तो अस्पताल : जहाँ रोग निको हुन्छ, पैसा पनि कमाइन्छ

कुष्ठ प्रभावितहरुको दुःख बिर्साउनका लागि 'हरियोखर्क' ले जुराइदिएको अवसर

प्रकाशित मिति: 2017-03-28
लिलप्रकाश चन्द

पोखरा । तनहुँकी धनमाया गुरुङलाई ३६ वर्षमा कुष्ठरोग लागेपछि घरपरिवारले राम्रो व्यवहार गरेनन्, गाउँघरको अपहेलना सहन नसकेर उहाँ पोखरा झर्नुभयो । हाम्रो समाजले कुष्ठ प्रभावित व्यक्तिलाई छिछि र दुरदुर गर्ने क्रम विस्तारै कम हुँदै गए पनि अँझै हटि नसकेको बुझाइ उहाँको छ ।

१२/१३ वर्षका किशोर रुकुमका भीमबहादुर मल्लमा पनि कुष्ठरोग देखियो, गाउँघरबाट लखेटिएपछि बाटोमा फालिएका सुन्तलाको बोक्रा चपाउँदै औषधी उपाचार खोज्दै उहाँ पनि पोखरा पुग्नुभयो ।

अस्पतालमा उपचार गराउन भर्ना भएका आफूहरुबीच माया प्रेमपछि विवाह गरेका ती दिन सम्झदा धनमायाका आँखा खुशीले ठूला भए भने स्वर पनि झन् ठूलो सुनियो । 'उस्तैउस्तै एकनास भएपछि यस्तो हुँदो रहेछ, धनमायाले भन्नुभयो 'उसलाई गाउँबाट निकालिएपछि बाटो हिड्ने मानिसले फालेका सुन्तलाका बोक्रा चपाउँदै रुकुमबाट पोखरा पुगेको रहेछ, सुन्दा पनि रुन मन लाग्छ।'

अहिले कुष्ठरोगको उपचारसँगै धनमाया र उहाँको श्रीमानको दिनहरु भैँसी गोठालो जाने, घाँस काट्नेदेखि बारीबगैचाको खनखोर्सनमा वित्छन् । हात र खुट्टामा केही समस्या भए पनि दिनभर गरेको कामबाट दुबै जनाको गरी मासिक करिब १८ हजार आम्दानी हुन्छ  ।

सल्यानका पूर्णबहादुर पुन पनि एक वर्षदेखि कुष्ठ रोगोको उपचारसँगै साढे १३ हजार मासिक आम्दानी गर्ने हुनु भएको छ । कुष्ठरोग र त्यसका बिरामीप्रतिको समाजको बुझाइ वास्तविकता भन्दा भिन्नै रहेकोमा उहाँको चित्त दुख्छ ।

करिब ६० वर्षका गोरे दाईका औँलाहरु असामान्यजस्ता देखिन्छन्, उहाँको बोली राम्रोसँग बुझिदैन। दुबै समस्या कुष्ठरोग लागेपछि भए, घरगाउँबाट निकालिएपछि विदेशी चिकित्सकले करिव २० वर्षअघि ल्याएर पोखरामा उपचार सुरु गरे।

नागरिक्ता र नाम थाहा नभएछि गोराहरुले ल्याएकै आधारमा उहाँको नाम गोरे राखिएको अस्पतालका कर्मचारीहरुकाे भनाइ छ । 'अहिले गोरे दाईको उपचार भइरहेको छ भने बारीको खनखोर्सनबाट मासिक करिब दस हजार रुपैँया आम्दानी उहाँको हुन्छ ।' साथै रहनु भएका पूर्णबहादुर पुन भन्नुहुन्छ,'गोरे दाईका घरपरिवारले लखेटेपछि आउनुभयो, यतै उपचार भइरहेको छ, अब जाने ठाउँ पनि कतै छैन।'

कुष्ठरोग हुँदा शरीर विकृत हुँदै जाने र उपचारमा भएको ढिलाइका कारण रोग निको भइसके पनि शारीरिक रुपमा विकृत हुन्छ । पाल्पाका जुनाकुमारी मल्ललाई कुष्ठरोग भएपछि उहाँको श्रीमानले उपचारका लागि पोखरा ल्याउनुभयो । उपचारसँगै मल्ल दम्पतिको पनि मासिक आम्दानी सरदर आठदस हजार हुन्छ ।

उपचारसँगै आम्दानीको अवसर पाउनुमा हरियोखर्क अस्पतालको ठूलो हात ठान्छन् विरामी र उनका आफन्तहरु । पोखराको नयाँगाउँमा सञ्चालित अस्पतातले कुष्ठ प्रभावितहरुको उपचार मात्र गरेको छैन, करिब १३ बिगाह क्षेत्रफलमा सञ्चालन गरेको कृषि फर्ममा कुष्ठ प्रभावित र उनीहरुका आफन्तले समेत काम गर्दा दैनिक साढे तीन सयदेखि आठ सय रुपैँया पाइरहेका छन् ।

अस्पताल चलाउने संस्था आईएनएफ नेपालको स्वास्थ्य बिभाग अपरेशन निर्देशक ढुन्डी बैरागी अरु अस्पतालमा ऋण काढेर आफन्तको उपचार गर्ने र घर फर्कदा रित्तो गोजी लिएर जाने भए पनि आफूहरु गरिव नागिरकले पनि उपचार पाएर जीवन रक्षा गरुन् भन्ने अभियानमा लागेको बताउनुभयो । 'काम गरेर ज्याला पनि पाउने र विरामी आफन्तको उपचार पनि हुने अवस्था सिर्जना गर्न लागिपरेका छौँ, बैरागीले भन्नुभयो,'हामीले चाहेजस्तो करिब दस प्रतिशत मात्र भएको छ,९० प्रतिशत काम हुन बाँकी नै छ।'

अस्पतालले सञ्चालन गरेको कृषी फार्ममा कुष्ठ प्रभावित र उनीहरुको स्याहारकर्तागरी १३ जनाले अहिले रोजगार पाइरहेका छन् । एक तथ्यांकका अनुसार मुलुकभरमा गरी यो वर्ष मात्र ३ हजारभन्दा धेरै नयाँ कुष्ठरोगी फेला परेका छन् ।

स्वास्थ्यसेवा विभाग मातहतको कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक चुडामणि भण्डारी कुष्ठ प्रभावितप्रतिको बुझाइ र हेराइ सकारात्मक हुनुपर्ने बताउनुहुन्छ । 'कुष्ठरोग लाग्नवित्तिकै उनीहरुलाई हेला गर्नेक्रम घटेको छ तर उनीहरुले पनि गाउँसमाजका लागि केही गरेर देखाउन सक्छन् भन्ने उदाहरण हरियोखर्क अस्पतालको कृषि फर्ममा काम गर्नेहरुले देखाएका छन् ।' निर्देशक भण्डारीले भन्नुभयो ।

सन् २०२० सम्म ७५ जिल्लाबाटै कुष्ठरोग निवारण गर्ने उद्देश्य सरकारको छ । नयाँ कुष्ठरोगीहरूमध्ये करिब ५ प्रतिशतमा शारीरिक अपांगता हुने गरेको पाइए पनि उनीहरुलाई परिवार, समाजको हौसला भए आत्मनिर्भरको बाटो आफै पनि पहिल्याउन सक्छन् ।

घरपरिवार र समाजका कोही, कसैमा कुष्ठ रोग भए नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लैजानुपर्छ  । आजभन्दा झन्डै १५/२० वर्षअघि कुष्ठ रोगबाट प्रभावित भएकै कारण घरपरिवार, समाजबाट हेपिएका, निकालिएकाहरु एकै प्रकारको स्वास्थ्य समस्या र सहनु परेको दुख एकअर्कालाई बाँड्दै गर्दा एकै परिवारको रुपमा बस्न थालेका छन् । 

यस बारेको अडियो रिपोर्ट सुन्न यहाँ क्लिक गर्नुहोस्ः

https://soundcloud.com/user-687894481/report-by-lilprakash-chand

तपाईंको बिचार