पढाईसंगै व्यवसाय

कुखुरा पालनबाट मासिक २ लाख आम्दानी

प्रकाशित मिति: 2017-03-24
सुजना ढकाल


काठमाण्डु । पढेपछि हातमा प्रमाणपत्र लिएर जागिर खोज्न हिंड्नेको जमात समाजमा ठुलो छ । तर यहि समाजमा पढ्दा पढ्दै खेति किसानी र पशुपालन गरेर मनग्य आम्दानी गर्नेहरु पनि छन् । जागिर खोज्दै हिंड्नेहरुका लागि उदाहरणिय व्यक्ति मध्येका एक युवक हुनुहुन्छ भक्तपुर चित्तपोलका बिजय खड्का ।

व्यवासायी तथा कुखुरा फार्मका सञ्चालक बिजय खड्का उमेरले भर्खर २२ को हुनुभयो । यो उमेरमा कलेज जाने र बाँकी समय बेकामे भएर बस्ने युवाहरु प्रशस्तै छन् । तर बिजय त्यसको अपवाद् हुनुहुन्छ । वागीश्वरी कलेजको स्नातक तह तेस्रो वर्षमा अध्ययनरत खड्कालाई विहान ६ बजे कलेज पुग्नुअघि कुखुरालाई दानापानी खुवाउने चटारो हुन्छ । 

स्नातक तेस्रो वर्षमा अध्ययन गरी रहनु भएको उहाँको  कुखुरा फार्ममा हाल २५ सय भन्दा धेरै साना ठुला बोईलर कुखुरा छन् । ५ वर्ष अघि पाँच हजार चल्लाबाट शुरु भएको व्यवसाय अहिले महिनामा लाखौं आम्दानी गर्ने माध्यम बनेको छ । कक्षा १०मा पढ्दै गर्दा खेरीबाट नै शुरु गर्नु भएको उहाँले कुखुरा पालन गर्ने सोच भने अरुको देख्दा हेर्दा राम्रो, काम गर्दा अलि फाहोर भएपनि दाम राम्रो कमाउन सकिने र कामबाट सफलता मिल्दै गएका कारण यसैलाई निरन्तरता दिदैँ आउनु भएको हो ।

रोजगारी नपाएको भन्दै दैनिक १५ सय भन्दा धेरै युवा कामका लागि विदेशिने गरेका छन् । तर बिजयलाई परदेश भन्दा आफ्नै गाउँ ठाउँ प्यारो छ । किनकी उहाँको फार्म भरी कुखुरा छन् । मिहेनति युवा बिजय कलिलै उमेरमा राम्रो व्यवसायी बनिसक्नुभएको छ । उहाँ २०, ३० हजार कमाउन विदेश जानु भन्दा आफ्नै गाँउ ठाँउमा नै परिवारसँग बसी काम गरेर महिनाको डेढ दुई लाख कमाउने सकिने बताउनुहुन्छ । 

निरन्तर मिहेनत र काममा खटिनेको लागि कुखुरा पालन व्यवसाय एउटा निकै राम्रो कमाईको माध्यम रहेको खड्काको अनुभव छ । समय अनुसार गर्न सके आफू एक्लैले पनि व्यवसाय गर्न सकिने बताउनुहुने उहाँ आफू यस कामबाट सन्तुष्ट रहेको पनि व्यक्त गर्नुभयो ।

उहाँ आफ्नो फुर्सदको समयमा फार्ममा बसेर नै कुखुराको हेरचाहका साथै पढाई पनि गर्नु हुन्छ । व्यवसायी बिजय खड्काले यहीँ व्यवसायबाट नै आफ् र घरखर्च त पुर्याउनु भएको छनै साथै कुखुरा धुवानीको लागि बुलेरो समेत खरिद गर्नु भएको छ ।

बिजयले कुखुरा पालेर राम्रो आम्दानी गरेको देखेपछि उहाँको अनुशरण गर्नेहरु दिन दिनै बढिरहेका छन् । यसले उहाँलाई थप खुशी मिलेको छ । कामलाई सानो ठुलो नमान्ने र मिहेनत गर्ने हो भने सफल व्यवसायी हुन उमेर पाको हुनुपर्छ भन्ने छैन । 

 

तपाईंको बिचार