गौरीशंकर गाउँपालिका समृद्ध बनाउन काठमाडौं बस्नेहरुको पहल

दोलखामा ७ गाउँपालिका र दुई नगरपालिका छन्

प्रकाशित मिति: 2017-03-21

दोलखाको गौरीशंकर गाउँपालिकाका अगुवाहरुले आफ्नो गाउँपालिकालाई मुलुककै सबैभन्दा उत्कृष्ट, सम्वृद्ध र नमुना गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका  छन् । 

स्रोत साधनले निकै धनी दोलखाको उत्तरी क्षेत्रमा रहेको गौरीशंकर गाउँपालिकालाई ७ सय ४४ स्थानीय तह मध्ये सबैभन्दा उत्कृष्ट बनाउने अठोट उनीहरुको छ । 

स्थानीय तह पुनर्संरचना हुँदा दोलखाको खारे, सुरी, चंखु, मार्बु, झ्याँकु र जुँगु गाविसलाई समेटेर गौरीशंकर गाउँपालिका बनेको छ । 

तत्कालीन ५ गाविस अर्थात हालको गौरीशंकर गाउँपालिका स्थायी घर भई काठमाडौं बसोबास गर्दै आएकाहरु सोमबार काठमाडौंमा भला भएर आफ्नो गाउँपालिकालाई समृद्ध बनाउन गर्न सकिने उपायका खोजी गरिएको बताए ।

कार्यक्रममा गौरीशंकर गाउपालिका–५ सुरीका स्थायी बासिन्दा तथा दोलखा क्षेत्र नम्बर १ का सांसद पार्वत गुरुङले यो गाउँपालिकामा भएको जलविद्युतदेखि जडिबुटी जस्ता सबै प्राकृतिक सम्पदाको उपयोग गर्नेतर्फ लागे समृद्ध र नमुना गाउँपालिका बन्ने बताउनुभयो । 
युवा उद्यमी समेत रहनु भएका सांसद गुरुङले छिमेकी चीनसँग सीमा जोडिएको यो गाउँपालिकामा नाकाबन्दी भएसमेत असर नपर्ने गरी विकास गर्ने खाका भएकाले यसतर्फ लाग्ने प्रतिबद्धता जनाउनुभयो 

कार्यक्रममा सो गाउँपालिका स्थायी घर भएका एमाले प्रदेश–३ का सदस्य सरस्वती बस्नेत, प्रदेस– सम्पर्क समन्वय समितिका संयोजक श्याम बस्नेत, दोलखाली पत्रकार समाजका अध्यक्ष सन्तोष खडका, पे्रस चौतारीका अध्यक्ष गणेश बस्नेत, एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीलगायतले सबैसँग सहकार्य गरेर विकास र समृद्धिको बाटोमा लाग्ने प्रतिबद्धता जनाए । 

कार्यक्रमबाट सुरीका अमृत खड्काको अध्यक्षतामा ३५ सदस्यीय गौरीशंकर गाउपालिका सम्पर्क मञ्च पनि गठन गरिएको छ । दोलखामा ७ वटा गाउँपालिका र दुई वटा नगरपालिका रहेका छन् । 

तपाईंको बिचार