पम्फा खड्काको आम्दानीको श्रोत चट्पटे बनाउने र बेच्ने हो । ललितपुरको बालकुमारीमा चट्पटे बेचिरहनु भएका उहाँ सामानलाई धुलोबाट जोगाउन कपडाले छोप्दै हुनुहुन्छ । र पनि उहाँको ठेलागाडा नै धुलाम्य बनेको छ । सडक छेउमा बस्ने भएकाले सवारी साधन आउने वित्तिकै धुलोको मुस्लोले छपक्कै छोप्छ । धुलोकै कारण व्यापार त घटेको छनै स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ ।
झापाका रत्न बहादुर बस्नेतलाई राजधानी आएको तीन चार दिनमै विरक्त लाग्न थालिसकेको छ । कारण हो काठमान्डुको धुँवा र धुलोमय वातावरण । सडकमा निस्कियो कि धुलोले श्वास फेर्नै गाह्रो परेको उहाँ बताउनुहुन्छ ।
उपत्यकाका आधाभन्दा बढी सडक भत्काइएकाले राजधानी धुलाम्य बनेको हो । सडक विस्तार र खानेपानीको पाइप बिछ्याउन मुख्य मात्र होइन सहायक सडकसमेत भत्काइएका छन् । भत्काइएका सडक समयमै कालोपत्रे नहुँदा उपत्यकाको आकाश धुलाम्मे भएको छ ।
काठमान्डुको वातावरणमा वायु प्रदुषणको मात्रा सरकारी मापदण्डभन्दा झन्डै पाँच गुणा र विश्व स्वास्थ्य संगठनको भन्दा झन्डै १० गुणाले बढि रहेको तथ्याङ्कहरुले देखाएका छन् । यस्तो प्रदूषणले पार्ने असर निकै गम्भिर छ, टेकु अस्पतालका चिकित्सक शेर बहादुर पुन धुलोको कारण घाँटी, श्वासप्रश्वास र फोक्सोमा गम्भिर समस्या पर्ने बताउनुहुन्छ ।
नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संविधानमै छ । तर सरकारले धुँवा र धुलोका कारण नागरिकको स्वास्थ्य उच्च जोखिममा पर्दा पनि वातावरण प्रदुषण घटाउने गरि उलेख्य कदम चाल्न सकेको छैन । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशी भने सरकारले धुलो नियन्त्रणको लागि काम गरिरहेको दाबी गर्नुहुन्छ ।
काठमान्डुको वातारणमा फैलिएको धुलो र धुँवाबाट मास्क लगाएर समेत बँच्न सक्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् । प्रदुषित वातावरणकै कारण आउँदो दश वर्षमा झण्डै पाँच प्रतिशत राजधानीबासीलाई क्यान्सरको जोखिम हुनसक्ने अनुमान समेत चिकित्सकहरुले गरेका छन् ।
संविधानले हरेक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार दिएको छ । तर बाटो विस्तार र खानेपानीको पाईप विछ्याउने कामले काठमान्डुलाई धुँवा र धुलोको राजधानी बनाएको छ । जसका कारण कयौं नागरिकको स्वास्थ्य निकै जोखिममा छ ।
तपाईंको बिचार