छाउपडीमुक्त जिल्ला बनाउन अछामका रेडियोको साझा अभियान

सरकारी/गैरसरकारी क्षेत्रसँग पनि समन्वय गर्ने

प्रकाशित मिति: 2017-03-01
रेडियो रामारोशन, रेडियो सोसाइटी, रेडियो जनप्रीय र रेडियो अछाम एफएम, अछाम

छाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सामुदायिक रेडियोहरुले साझा अभियान सुरु गरेका छन् । 
सामुदायिक रेडियोको अभियानमा अछामस्थित सञ्चार संस्था र जिल्लाबाट राष्ट्रिय स्तरमा काम गर्ने विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुले ऐक्यवद्धता जनाएका छन् । 
सुदूरपश्चिममा सामाजिकरुपमा जरा गाडेर बसिरहेको छाउपडी कुप्रथा अन्त्यका लागि सामुदायिक रेडियाहरुले चैत पहिलो हप्ताबाट नै विषेश अभियान संञ्चालन गर्ने निर्णय गरेका हुन् । 
यसका लागि जिल्लाका ७ वटै सामुदायिक रेडियोका प्रतिनिधित्व हुने गरि अभियान समन्वय समिती र कार्यक्रम उत्पादन समिती गठन गरिएको छ । 
सामुदायिक प्रसारक संघ अकोराबका क्षेत्रिय उपाध्यक्ष जनकराज भण्डारी संयोजक रहने गरि ११ जनाको समन्वय समिति र रेडियो सोसाइटीका स्टेशन म्यानेजर विष्णु प्रसाद भण्डारी कार्यक्रम संयोजक रहने गरि ७ वटै रेडियोका समाचार प्रमुख तथा कार्यक्रम प्रमुख सदस्य रहने गरि कार्यक्रम उत्पादन समिति बनाइएको छ । 
समन्वय समितिमा स्थानिय दैनिक पत्रिकाका प्रमुखहरु पनि रहेका छन् । छाउपडी कुप्रथा अन्त्यका लागि काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयसँगै समन्वय गरि कार्यक्रमलाई अघि बढाईने निर्णय पनि बैठकमा भएको छ । 
सामुदायिक प्रसारक संघ÷सामुदायिक सुचना नेटवर्क सीआईएनका समाचार प्रमुख गोविन्द खड्काको संयोजनमा भएको बैठकले सामुदायिक रेडियोको अभियानमा साथ दिन जिल्लामा कार्यरत गैरसरकारी सस्था र सरोकारवालाई आह्वान पनि गरेको छ । 
सामुदायिक रेडियोको साझा अगुवाईमा चैतको पहिलो हप्ताबाट छाउपडी मुक्त अभियान सुरु हुनेछ । 
गाउँगाउँमा पुगेर सामुहिक भेला गर्ने, सार्वजनिक सुनुवाई गर्ने, सातवटै रेडियोको संलग्नतामा कार्यक्रम उत्पादन गरेर सातवटै रेडियोबाट एक साथ बजाउने गरी अभियानलाई निरन्तरता दिने सहमति भएको छ । 
समन्वय समितिले सरकारी र गैरसरकारी सस्थाहरुसँग समुन्वय गरि कार्यक्रमका एजेण्डा तय गर्ने भने उत्पादन समितिले त्यसका आधारमा कार्यक्रम उत्पादन गर्नेछ । 
बैठकमा सीआईएनका समाचार प्रमुख खड्काले देशभरिका रेडियोका लागि अछामका रेडियोहरुले सुरु गरेको ‘साझा अभियान’ नयाँ र अनुकरणीय भएको बताउनुभयो । 
समाजमा विद्यमान सम्पूर्ण कुसंस्कारको अन्त्यका लागि सबै सञ्चार माध्यम र पत्रकारहरुले साझा मुद्दा बनाएर एक साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । 
छाउपडी मुक्त अभियान समन्वय समिति संयोजक तथा सामुदायिक रेडियो प्रसारक संघ अकोराबका क्षेत्रीय उपाध्यक्ष जनकराज भण्डारीले यो सबै सञ्चार माध्यमको साझा अभियान भएकाले यसले नयाँ उचाई पाउने र सिंगो अछामलाई छाउपडी गोठमुक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । 
बैठकले कार्यक्रमलाई प्रभावकारी बनाउन विषेश तालिमको व्यवस्थाका लागि सामुदायिक रेडियो प्रसारक संघ अकोराबसँग आग्रह गर्ने पनि निर्णय गरेको छ । 
सरकारले पनि केही महिना भित्र महिनावारी सरसफाइ व्यवस्थापन सम्बन्धी छुट्टै नीति ल्याउन लागेकाले त्यसका लागि पनि जिल्लाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता रेडियोहरुले गरेका छन् । 

 

तपाईंको बिचार