स्वास्थ्य सेवाप्रति कालिकोटका महिलाहरुको चासो

निशुल्क र गुणस्तरीय सेवा माग्दै आन्दोलनमा

प्रकाशित मिति: 2017-02-20
नन्दकृष्ण अधिकारी, रेडियो चंखेली, कालिकोट


काालिकोट जिल्लाका स्वास्थ्य संस्थाबाट प्रभावकारी सेवा नपाएको भन्दै कालिकोटका महिलाहरु धर्नामा उत्रिएका छन् । 

विगतका वर्ष भन्दा यसवर्ष प्रभावकारी सेवा भैरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरिरहेका बेला स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाहका लागि स्वास्थ्य मन्त्रालयले व्यवस्था गरे अनुसारको सेवा कालिकोटका स्वास्थ्य संस्थाहरुबाट नपाइएको महिलाहरुको गुनासो छ । 
नेपाल सरकारले दिएको स्वास्थ्य सेवा सबै पाउनुपर्ने भन्दै स्वास्थ्य कार्यालयमा ध्यानाकर्षण नै गराइएको महिलाहरुको भनाइ छ । 
हिजो ध्यानाकर्षण गराउन जाने क्रममा महिलाहरुले हातमा प्लेकार्ड र ब्यानरसहित करिब १ घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेर प्रमुख जिल्ला अधिकारी कृष्णकुमार खड्कालाई ध्यानाकर्षण पत्र दिएका छन् । 
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले यसको यथार्थता बारे जिल्ला स्वास्थ्यमा बुझ्ने जानकारी दिएपछि टोली फेरी जिल्ला स्वास्थ्य कार्यालयमा धर्नाका लागि पुगेको थियो ।

स्वास्थ्य संस्थाबाट पाउने आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने, प्रत्येक नागरिकले स्वास्थ्य सेवा बारे जानकारी पाउने, स्वास्थ्य सेवामा समान पहुँच र सभ्य व्यवहार सहितको सेवा दिइने जस्ता कुराहरु व्यवस्था गरिए पनि कालिकोटका स्वास्थ्य संस्थामा सामान्य औषधीका लागि नीजि मेडिकल धाउनु पर्ने, साहुसँग ऋण लिएर काटेर उपचारको लागि सुर्खेत, नेपालगंज जानुपर्ने, स्वास्थ्यकर्मीबाट राम्रो व्यवहार नहुने तथा महिलाहरुको विशेष स्वास्थ्य उपचारका लागि सकेसम्म महिला डाक्टरको व्यवस्था गर्नुपर्नेलगायतका माग उनीहरुले राखेका छन् । 
धर्नामा बसेका महिला समुहहरुले उठाएका सवालबारे जानकारी दिदै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कौषल अलिले विगतका दिनहरुमा यस्ता समस्याहरु देखिए पनि हाल यस्तो नरहेको र यदाकदा त्यस्तो देखिए कार्वाही अगाडी बढाउने प्रतिवद्धता जनाउनु भएको छ । 

तपाईंको बिचार