अगरबत्तीको सुगन्धसँगै फूल्दै गरेका दृष्टिविहिनका सपना

दृष्टिविहिन उद्योगीले देखेको संसार ( अडियो सहित )

प्रकाशित मिति: 2017-02-18
राजन रुचाल

काठमान्डु । ललितपुरको सानेपा स्थित एउटा घर । भुँई तल्लाको गेटबाट छिर्दैगर्दा नाकैभरी गुञ्जने सुगन्धबाट अनुमान लगाउन सकिन्छ यतै कतै अगरबत्ती उद्योग छ । भित्र पुग्दा अँध्यारो कोठामा सबै आ– आफ्नै काममा व्यस्त । कोही अगरवत्तीमा सुगन्ध भर्दै थिए । कोही सुगन्धित अगरबत्तीलाई प्याकिङ गर्दै थिए ।

यहाँ काम मध्ये धेरै जसो दृष्टिविहिन छन् । किर्तिपुरमा बस्दै आउनुभएका काभ्रेका सुन्जित तामाङ, उद्योगबाट अगरबत्ति लिएर बिक्रिका लागि ठाउँठाउँमा पुग्नुहुन्छ । दृष्टि भएका व्यक्तिलाई साथ लिएर उहाँले अगरबत्ति बेच्ने काम थाल्नुभएको एक वर्ष भयो । महिनाको १५ हजार रुपैंयासम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

अलि भित्र पट्टि अर्को कोठामा डोटीका टेकबहादुर बम भेटिनुभयो, अगरबत्तिलाई बजारमा लगेर बेच्नका लागि ठिक्क पार्न व्यस्त हुनुहुन्थ्यो । उहाँ ललितपुरको मंगलबजारमा बस्नुहुन्छ । यहि अगरबत्ती उद्योगमा काम गरेर उहाँको पनि जीविका चलिरहेको छ । उच्च शिक्षा अध्ययन गर्ने अवसर पनि यसै कामले जुराई दिएको छ ।

दृष्टि गुमाएका र भएकाहरुलाई रोजगारी दिंदै आएको डाँफे अगरबत्ति धुप उद्योगको सञ्चालक उमेश थापा हुनुहुन्छ । आठ वर्ष अघि एउटा दुर्घटनामा परेर आँखाको ज्योति गुमाउनुपरेपछि उमेशलाई के दिन के रात पत्तो छैन । तर उहाँको लगनशिलता र मिहेनतले धेरैको परिवारमा उज्यालो छाएको छ । डाँफे अगरवत्ति धुप उद्योगका भक्तपुर, चितवन र पोखरामा समेत शाखा छन् ।
 
सिन्धुपाल्चोकका उमेश थापाले जब सानैमा घर छोड्नुभयो, घरपरिवार, आफन्तको मायाको महसुस गर्न पाउनु भएन । केहि गर्ने सपना साँच्दासाँच्दै दृष्टी गुमेपछि मनमा पलाएको अठोटले उहाँलाई  उद्योगपति बनाएको छ । ललितपुर स्थित उहाँको उद्योगमा अन्य दृष्टि विहिनले पनि रोजगारी पाएका छन् ।

धेरैलाई रोजगारी र तालिम दिंदै आउनुभएका उहाँको  जीवनमा श्रीमति र छोरा दुई आँखा जस्तै बनेका छन् । विहे भएको आठ वर्ष पुग्यो । आफु दृष्टिविहिन भएपनि उहाँकी साङ्ग हुनुहुन्छ । श्रीमतिको आड भरासोले उमेशलाई काम गर्ने हौसला मिलिरहेको छ ।

आँखाले नदेखेर के भो ? मनले देखेकै छ, मनले बुझेकै छ । उमेशले सञ्चालन गर्नु भएको अगरबत्ति उद्योगमा थरिथरीका सुगन्धसँग खेल्दै काम गर्ने दृष्टिविहिनहरु छन् र उनीहरुको कथा, ब्यथा र सपनाहरुमा पनि बिबिधता छन् । भोगिरहेको दुख भूलेर समाजलाई उज्यालो तिर डोे¥याउने सपना छ उनीहरुको ।

काभ्रेका सुन्जित तामाङ, डोटीका टेकबहादुर बम जस्ता अरु दृटिविहीन र दृष्टि भएकाले पनि उद्योगका बिभिन्न शाखाहरुमा रोजगारी पाइरहेका छन् । ती सबैले साँचेका सपना पूरा गर्ने अभिभारा भने उद्योग संचालक उमेश थापाको काँधमा छ । उहाँ आफैंपनि दृष्टिविहिन हुनुहुन्छ । तर मनको दृष्टिले टाढा टाढासम्म छर्लङ्ग देखेको छ ।

आँखाले हेरेर रुपलाई मन पराउनेहरु त संसारमा हजारौं भेटिएलान् । अन्तरहृदयले चियाएर उमेश थापाको मनलाई मन पराउने उहाँकी श्रीमति अनुश्काको निर्णय पनि कम प्रशंसनीय छैन । उमेशले दृष्टि गुमाएपछि देखेका हरेक सपना पूरा गर्ने अभिभारा अनुश्का थापाको काँधमा छ । किनकी उमेशको मनले देखेको सपना भित्रै आँट र साहसको उज्यालो संसार पनि छ ।

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार