महिनावारी: राज्यको नीतिभन्दा गाउँको थितीले समस्या

महिनावारी सरसफाइ व्यवस्थापन नीति बनाउँदै सरकार

प्रकाशित मिति: 2017-02-16
लक्ष्मी बस्नेत

रकारले महिनावारी सरसफाइ व्यवस्थापनका लागि राष्ट्रिय नीति बनाउने भएको छ । त्यसका लागि विभिन्न क्षेत्रीय तथा राष्ट्रिय परामर्श गोष्ठीहरु भइसकेका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालय र अरु सरसफाइका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले भक्तपुरको नगरकोटमा गत बिहीबार र शुक्रबार राष्ट्रिय परामर्श गोष्ठी गरेका छन् । 

कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री पे्रमबहादुर सिंह र राज्य मन्त्री दीपक खड्काल महिनावारीका बेला गरिने विभेदले महिलाहरुमा ठूलो असर परिरहेको र त्यसले देशमै असर गरिरहेको बताउनुभयो । अब त्यस्तो नहुने गरी सरकारले नीति बताउनु लागेको बताउनुभयो । कतिपय अवस्थामा समाज, घरका पुरुष सदस्यहरुले महिनावारी बार्न लगाउने गरेको भए पनि शिक्षित र बुझेकै महिलाहरुले पनि यस्ता संस्कारलाई छोड्न नसकेकोमा दुखेसो गर्नुभयो । 
खानेपानी तथा सरसफाइ समन्वय परिषदका संयोजक गुणराज श्रेष्ठले सन् २०१७ सम्म देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने अभियानलाई सफल पार्न र प्राकृतिक प्रक्रिया हुँदा पनि विभेद भोग्नुपरेको अवस्था आउन नदिने गरी राष्ट्रिय नीति बनाउन आवश्यक परेको बताउनुभयो । 
परामर्श गोष्ठीमा अछाम, जुम्ला, कपिलवस्तुलगायत जिल्लामा छाउपडी र सुरक्षित महिनावारी व्यवस्थापनमा काम गर्ने अभियन्ताहरुले आ आफूले गरिरहेको कामका साथै आफूले भोग्नु परेको विभेद सुनाएका थिए । 

छाउ गोठमा बसेर शिक्षण सामग्री बनाउनै समस्या –जानकी तिमिल्सेना, शिक्षिका, अछाम

अहिले त धेरे परिवर्तन भइसक्यो अवस्था । तर पहिला गोठमा बस्नुपथ्र्यो । भोलिपल्ट पढाउने विषयवस्तुको तयारी गर्नै गाह्रो हुन्थ्यो । त्यसैले यससम्बन्धी जानकारी पाएपछि अहिले त्यसै विरुद्ध आफू काम गरिरहेको छु । काम गर्ने क्रममा तेस्रो महिनावारी दिवस मनाउने क्रममा गत मे महिनाको २८ तारिखमा एक कार्यक्रम गरिएको थियो । जुन कार्यक्रममा महिनावारीका बेला प्रयोग गरिने सेनेटरी प्याड देखाएर उद्घाटन गर्ने गरी तयारी गरिएको थियो । त्यसैअनुसार गर्दा धेरैले टाउको निहुर्याएर बसेका थिए भने धेरैले कानेखुशी गरेका थिए । तर यस्तो हुनुभएन सेनेटरी प्याडको बारेमा सबैले सजिलै बुझ्ने, कुरा गर्ने बानीको विकास गराउँदै लैजानु छ । किनकी अहिले पनि विद्यालयमा किशोरी छात्राहरुले यसबारेमा सजिलै भन्ने अवस्था छैन । विद्यालयमा शिक्षक पनि धेरै पुरुष हुन्छन् । कक्षामा साथीहरु पनि धेरै छात्र (केटाहरु) हुन्छन् । 
 

आफू बसेको गोठको भित्ता पनि लिप्नुपथ्र्यो –सुन्तली शाही, कक्षा १०, अछाम

म १४ वर्षमा महिनावारी भएँ । त्यसपछि प्रत्येक महिनाको छाउगोठमा बस्दा पढ्न, गृहकार्य गर्न पाईंदैन । किनकी बत्ती छैन । विद्यालयबाट फर्किदा बाँकी भएको उज्यालो समय काम गर्नुपर्छ । रात परेपछि गोठको बसाइ चिन्तामै हुन्छ । गृहकार्य गर्न सकिने गरी उज्यालो अथवा बत्ती हुँदैन अनि भोलि कक्षामा गृहकार्य किन नगरेको भनेर सोध्यो भने के भन्ने भनेर अर्को चिन्ता । सर, मेडमसँग भन्न सकिंदैन । सर (पुरुष) सँग महिनावारीको कुरा कसरी गर्ने ? भन्यो भने केटा साथीहरुले छुई भएको, यता छुइएला, उता छुइएला भन्ने र जिस्क्याउने गर्छन् । महिनावारीका बेला मात्र होइन, चोखिने भनिएको अन्तिम दिन आफू बसेको गोठको भित्ता समेत लिप्नुपर्छ । त्यहाँका ओढ्ने ओछ्याउनेसहित लगाएको सबै धुनुपर्छ । बिहान धुन भ्याइएन भने विद्यालय जानै पाईंदैन ।


घाममा कपडा सुकाउन पनि पाईंदैन –मगर कक्षा १० दाङ

मगर समुदायको समस्या फरक छ । महिनावारी हँुदा पूजा कोठामा नजाने, भान्सामा नजाने, अथवा के गर्ने के नगर्ने भनेर ब्राम्हाण क्षेत्रीको जस्तो त हुँदैन तर अलि फरक छ समस्या । आर्थिक अवस्थाले गर्दा प्याड किन्न सकिने अवस्था नै छैन । धेरैले गर्ने भनेको थोत्रे तथा फालेको कपडालाई प्याड बनाउनु पर्छु । त्यो लगायो तर धोएर घाममा सुकाउन पाईंदैन । घरका पुरुष सदस्यले देख्छन् भनेर । 

त्यसैले मेरो सुझाव छ : परिवर्तन विद्यालयबाट शुरु गर्नुपर्छ । शिक्षक, विद्यालय संचालक, व्यवस्थापन समितिलाई सुरक्षित महिनावारी बारे जसरी पनि जानकारी राख्नैपर्ने बनाउनुपर्छ । महिना दिनमा हुन्छ भने पनि कुन दिन हुन्छ भन्ने थाहा हुँदैन । सँधै त्यस्ता प्याड विद्यालयमा प्याडको व्यवस्था गर्नुपर्छ । फेरि लगाउन मिल्ने प्याड बनाउने सीप दिनुपर्छ । 
 

महिनावारी हुने दिन नआए पनि हुन्थ्यो भन्ने लाग्थ्यो –रमा ढकाल, शारीरिक अपांगता, अधिकारकर्मी 

मेरो कम्मर भन्दा तलको भाग चल्दैन । शौचालय उठेर बस्ने खालको (कम्बोट) चाहिन्छ । मलाई अरुको सहयोग चाहिंन्छ महिनावारीको प्याड फेर्न पनि आफैं सक्दैनौं म जस्ता अपांगता भएकाहरुले । म जब महिनावारी भएँ, त्यसपछि मेरो शारीरिक कारणले कति समस्या हुने रहेछ भन्ने त्यतिबेला थाहा भयो ।

विद्यालय जाने बेला महिनावारी हुँदा सबैभन्दा गाहे, नजाउँ भने पढाइ छुट्ने जाँउ भने प्याड कहाँ फेर्ने ? त्यसैले महिनावारी भएका बेला विद्यालयमा हुँदा पिसाब नलागोस् भनेर बेलुका नै देखि पानी खान्नथें । त्यतिबेला महिनावारी हुने दिन पनि नआए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यतिबेला वर्षौंसम्म महिनावारी भएका बेला पानी नखाएको कारणले पनि हुन सक्छ । मृर्गौलामा समस्या देखियो हुँदै जाँदा अहिले त एउटा मृर्गौलाले काम गर्नै छाडेको छ । 

महिनावारी 
प्राचीन कालमा महिनावारी हुँदा बग्ने रगतलाई फोहोर, दूषित, अशुद्ध र रोगसँग जोडेर हेरिने गरिन्थ्यो । तर पछि मेडिकल साइन्सले महिनावारी हुनु भनेको शरीर भित्रको मेनोटक्सिन निस्कने प्रक्रिया मात्र हो । फोहोर, अशुद्ध केही होइन भनेको छ ।  अर्थात बुझ्ने गरी भन्नु पर्दा महिलाको पाठेघर जहाँ बच्चा बन्ने गर्छ, बच्चा बन्ने अवस्था बाहेकको अवस्थामा त्यो भाग फुटेर रगत निस्किन्छ । त्यसैलाई महिनावारी भनिन्छ । ठाउँअनुसार यसलाई कतै छाउ भएको भनिन्छ भने छुई भएको, नछुने भएको तथा पर सरेको भन्ने चलन पनि छ । स्टाफ नर्सं, अनुसन्धानकर्ता एवं महिनावारी सरसफाइ तथा महिनावारी अधिकारका क्षेत्रमा कार्यरत राधा पौडेलका अनुसार यो बेला जाने रगत शुद्ध रगत हो । 

महिनावारी विशेष गरी ९/१० वर्षदेखि ४५/५० वर्षका महिलामा हुने गर्छ । जुन महिला भएका कारण हुनैपर्ने आवश्यक शारीरिक प्रक्रिया पनि हो । सामान्यतयः एउटा महिलालाई उसको जीवनचक्रमा ३ हजार दिन महिनावारी हुन्छ । यति धेरै दिन छुट्टै बस्नुपर्ने अथवा विभेद हुँदा किशोरी÷महिलाको जीवन असर पर्ने उनीहरु आफ्नो जीवनमा त असर पर्छ नै । यो मानवअधिकारको पनि उल्लंघन भएको पौडेलको भनाइ छ । 

अब छाउपडी प्रथा कानुनीरूपमै अपराध

नेपालमा पहिलोपटक छाउपडी प्रथा कानुनी रूपमा अपराधभित्र परिभाषित भएको छ ।  महिनावारी र  सुत्केरी भएका समयमा गरिने विभेदजन्य व्यवहारलाई अपराधका रूपमा परिभाषित गरी कैद र जरिवानासमेत प्रस्तावित छ । ‘यस्तो बेलामा छाउपडी गोठमा पठाउने अथवा यस्तै कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन’ विधेयकको दफा १३८ को उपदफा ४ मा भनिएको छ । यस्तो कसूर गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । ’

तपाईंको बिचार