पाँचथरमा अकबरे खोर्सानीको उत्पादन घट्यो

किसानलाई घर खर्च चलाउनै समस्या

प्रकाशित मिति: 2017-02-15
जङ्ग तामाङ, सुम्हालुङ एफएम, पाँचथर

पाँचथरको मुख्य नगदे बाली मध्येको अकबरे खोर्सानीको उत्पादनमा गिरावट आएको छ । रासायनिक विषादी प्रयोग नगरिएको अर्गानिक खोर्सानी उत्पादन हुने जिल्लामा रोग किराको प्रकोपले उत्पादनमा गिरावट आएको हो ।

खोर्सानीको फूलमा देखिएको औँश किराको संक्रमणले फल नपाकी झर्ने र जरा तथा डाँठमा पनि ढुसीजन्य रोगको संक्रमणले बोट कुहेर मर्नाले उत्पादनमा कमी आएको किसानहरुले बताएका छन् ।

चिलिङदेनका अकबरे खोर्सानीको अगुवा किसान तारावीर नेम्बाङले खोर्सानीको उत्पादनमा आएको गिरावटले थप चिन्तित बनाएको बताउनुभएको छ ।

सिरिजङ्गा कृषि सहकारी संस्थाबाट खोर्सानी निर्यात गर्दै आउनु भएका उहाँले मूख्य नगदे बालीको उत्पादन खस्किँदा वर्ष खर्च जुटाउनै समस्या हुने चिन्ता व्यक्त गर्नुभयो ।

अकबरे खोर्सानीको व्यवसायिक रुपमै उत्पादन गर्दै आएका फाक्तेपका किसान टिकाध्वज चेम्जोङको पनि पीडा तारावीरको जस्तै छ ।

चिलिङदेन र फाक्तेपमा एउटै घरले वार्षिक कम्तिमा ३ लाख रुपैयाँको बराबरको अकबरे खोर्सानी विक्री गर्दै आएको छ । तर यसवर्ष आधाले कमी आएको किसानहरुको भनाई छ । 

जिल्ला कृषि विकास कार्यालयले पनि यसवर्ष खोर्सानी उत्पादनमा १५ प्रतिशतले गिरावट आएको जनाएको छ ।

कार्यालयका वालि संरक्षण अधिकृत सागर विष्टले किसानहरुले माटोको उपचार नगर्दा रोग किराको संक्रमण फैलिएको हुन सक्ने बताउनुभयो ।

गत वर्ष जिल्लाबाट २२ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको अकबरे खोर्सानी निर्यात भएको थियो ।

जसमध्ये चिलिङदेन गाविसबाट मात्रै ५२ हेक्टर क्षेत्रफलमा २ सय ९६ मेट्रिकटन खोर्सानी ७ करोड ४० लाख रुपैयाँको निर्यात भएको थियो ।

जिल्लाको चिलिङ दिनसँगै नाँगि, यासोक, रानिगाउँ, स्याबरुम्बा, वलने, पौवासारताप, फाक्तेप, आङसराङ, रवि, कुरुम्बा, लिम्बा, दुदिम्बा र सराङडाँडामा किसानहरुले अकबरे खोर्सानी व्यवसायिकरुपमै उत्पादन गर्दै आएका छन् । 

तपाईंको बिचार