चिसोसंगै प्रदुषणको मारमा ईट्टा भट्टाका मजदुर

पैसा कम, स्वास्थ्य समस्या धेरै

प्रकाशित मिति: 2017-01-26
सुजना ढकाल
फोटोःज्योती श्रेष्ठ
फोटोःज्योती श्रेष्ठ

काठमाण्डु । माघको महिना । अनि बिहानको समय । अलिअलि चिसो । म समाचार खोज्दै भक्तपुरको कमलबिनायकमा रहेको एउटा इट्टा उद्योगमा पुग्दा पाँचखाल काभ्रेकी सबिता तामाङ भेटिनुभयो । उहाँ खाना खाएको भाडा माझ्दै हुनुहुन्थ्यो ।  नजिकै ४ वर्षे छोरा खेल्दै थियो । सानी छोरी कोक्रामा सुताइएको थियो ।उहाँको श्रीमान चाहि इट्टा बनाउनमा नै व्यस्त हुनुहुन्थ्यो । मौसमी काम हुने इट्टा भट्टामा उहाँहरु दिनमा ३ हजारसम्म इट्टा बनाउनु हुन्छ ।

पाचँखाल काभ्रेका ५१ वषीर्य एकेन्द« बहादुर सापकोटाले महाविर काँचो इट्टा उद्योगमा काम गर्न थाल्नु भएको ४ वर्ष भयो । उहाँलाई काम गर्ने क्रममा कहिले जिउ दुख्ने त कहिले अन्य स्वास्थ्य समस्या छ । उहाँले अहिलेसम्म एकपटक मात्र गाँउमा सामान्य जाँच र उपचार गरेको बताउनु हुन्छ ।

यस्तै काभ्रे पाँचखालका कुमार दनुवार कतारमा ३ वर्ष बस्नु भयो ।  आफ्नो स्वास्थ्यले त्यति साथ नदिएपछि उहाँ नेपालनै फर्किनु भयो र हाल इट्टा उद्योगमा नै काम गर्दै हुनुहुन्छ । उहाँलाई उद्योगबाट आउने धुवा र चिसोको कारण स्वास्थ्यमा समस्या आइरहन्छ ।

१८ वर्षकी अनेकोट काभ्रेकी सबिता तामाङले पनि ईट्टा उद्योगमा काम गर्न थाल्नु भएको २ वर्ष भइसक्यो । हेर्दा उहाँ स्वस्थ देखिनु हुन्छ ।  उहाँ  धुवाधुलो र चिसोले पार्न सक्ने समस्याबारे अनविज्ञ हुनुहुन्छ तर, स्वस्थ छु भन्ने कुरामा ढुक्क चाहिँ हुनुहुन्न । फेरी धुवा, धुलो भयो भन्दैमा अन्त काम जाने बिकल्प पनि उहाँ संग छैन । जहाँ गएपनि काम नगरी खान पाईने होईन, काम नै गर्नुपर्ने भएपछि यहि काम गरे पनि ठिकै छ उहाँले भन्नुभयो । 

सामान्य रुपमा पनि इट्टाभट्टाबाट निस्कने धुवा, धुलो तथा माटोले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हानी गरी रहेको हुन्छ । यस्तोे समस्या हुँदाहुँदै न इट्टा उद्योग सङ्घ र सञ्चालकबाट उपलब्ध सुविधा पर्याप्त छन् नत स्वास्थ्य समस्या नै हल गर्ने खालका छन् । भक्तपुर ईट्टा उद्योगव्यवसायी सङ्घका अध्यक्ष नातीभाई ह्योम्बा, सामान्य उपचार गराईदिने भएपनि दीर्घ रोग भने उपचार गराईदिन नसक्ने बताउनुहुन्छ । 

पूर्व स्वास्थ्य सचिव तथा बरिष्ठ छाती रोग विशेषज्ञ डा. दिर्घ सिंह बम ईट्टा उद्योगबाट उत्पादित प्रदुषणले छाती संक्रमणको रोग बढ्ने बताउनुहुन्छ । दम, रुघाखोकी त छदैछ, श्वास प्रस्वास, निमोनिया जस्तो रोग यस्तो प्रदूषणले निम्त्याउछ । 

उद्योगबाट निस्किने धुवाधुलो हावाको माध्यमबाट लाग्ने हुँदा यसबाट जो पनि पीडित बन्न सक्छ । यसबाट बच्नका लागि व्यक्ति स्वयमले सजकता अपनाउनु पर्दछ भने र सरकारले पनि यसको  व्यवस्थापनका लागि राम्रो निति बनाउनु पर्दछ । 

नेपालभरि दर्ता भएका ईट्टा उद्योगको सङ्ख्या ८÷९ सयको हाराहारीमा रहेका छन् । त्यसमध्ये पनि भक्तपुरमा मात्रै ६२ को सङ्ख्यामा इट्टा उद्योग रहेका छन् । वातावरण प्रद्षणमा यस्ता उद्योगको विशेष भूमिका रहेको हुन्छ । यसले वातावरणमा असर त गर्छ नै साथै काम गर्ने कामदार र नजिकै बस्ने मानिसको स्वास्थ्यमा समेत गम्भीर असर गर्छ ।

तपाईंको बिचार