हिमपातपछि सेताम्मे रारा, पर्यटक बढ्ने निकुञ्जको अपेक्षा

प्रकाशित मिति: 2017-01-10
श्याम बिसी, रेडियो मुगु, गमगढी
तस्विरः श्याम बीसी
तस्विरः श्याम बीसी

मुगु । पर्यटकीय गन्तव्य मुगुको रारा ताल हिउँले सेताम्य भएको छ । यो क्षेत्रमा झण्डै १ फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण राराको सुन्दरता अझ थपिएको छ । रारामा हिमपात भएको समयमा पनि रारा ताल हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको किम हुदैन । 

हिमपात भएपछि पर्यटकहरु रारा भ्रमणमा आउने क्रम बढ्ने रारा राष्ट्रिय निकुञ्जको अपेक्षा छ । गत शनिबार रातिबाट छिटफुट बर्षा भएपछि आइतबार मुगु सहितका कर्णालीका सबै जिल्लाका उच्च स्थानमा हिमपात भएको थियो । रारा वरपर तथा रारा राष्ट्रिय निकुञ्ज वरपर रहेका रूखहरु कपासजस्तै सेतै देखिएका छन् ।

नीलो र कञ्चन तालको पानीमा हिउँको सेतो छाया भरिभराउ छ । सूर्यको पारिलो घामले राराको हिउँ चाँदीझैं टल्किएको छ । यो समयमा रारामा आउने पर्यटकहरुले मात्र राराको यस्तो सुन्दरतासगँ नजिक हुन पाउछन् । हिमपातको समयमा रारालाई बादलले ढाके पनि आकास खुलेपछि हिउँसँगै रारा चम्किलो देखिएको छ ।

राराको पारिलो स्थानमा हिउँ छिटै पग्लिए पनि खोल्सा–खाल्सीमा आगामी चैतसम्म रहने गर्दछ । आकास खुलेपछि कठ्यांग्रिँदो जाडोसँगै रारा पुग्ने जिल्ला भित्रैका स्थानियको सङख्या पनि कम छैन् । सेताम्य राराको सुन्दरता हेर्नका लागि जिल्लाको जिमा गाविसबाट रारा पुगेका पदम बहादुर शाहीले परिवारसहित आपूुहरु पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो “उसै रारा सुन्दर छ । हिउँले झनै राम्रो देखिएको छ ।’ मनोरम दृश्य अवलोकन गर्न र जाडो कटाउन पश्चिम मानसरोवर र साइबेरिया भारतको नैनी ताललगायतबाट कर्याङकुरुङ, जलेवा, सेता हाँस रारामा भरिभराउ छन् ।”

हिमपात सुरुभएपछि उच्च क्षेत्रहरुको जनजीवन प्रभावित भएको छ । रारा पर्यटन बिकास समितिका अध्यक्ष देविकृष्ण रोकायाले भन्नुभयो “रारामा हिमपात भए पनि आगन्तुकहरुका भने कुनै समस्या छैन्, हिमपात धेरै भएपछि मुलुकका केही पर्यटकीय क्षेत्रमा पर्यटकहरुलाई समस्या हुने भए पनी रारामा हिमपात भएपछि दुःख पाईन्छ भन्ने नबुझ्न पर्यटकहरुलाई हाम्रो आग्रह हो ।” 

हिमपातका कारण ग्रामीण दैनिकी टार्नका लागि समस्या भए पनी रारा भ्रमणमा आउने पर्यटकहरुका लागि भने खासै समस्या नरहेको उहाँको भनाइ छ । हिमपात भएपछि राराको सुन्दरता परिवर्तन हुने भएकाले पनि हिमपातको समयमा रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सङख्या उत्तिकै रहेको छ ।

समुद्री सतहदेखि २९ सय ९० मिटर उचाइको रारा हिउँदमा हिउँले सेताम्य र असार साउनमा सप्तरंगी फूलले सिगारिन्छ । बिहान, मध्याह्न्न र साँझतिर दिनमा तीनपटक राराको रूप फेरिने गदर्छ । हरेक वसन्त ऋतुका साथै राराले रूप फेरिरहन्छ । 

चैतवैशाखमा लालीगुराँस ढकमक्कै फुलेर बेहुलीजस्तै देखिन्छ भने गर्मी चढेपछि तालमा असला माछा, आहारा खोज्दै किनारतिर आउँछन् । डाँफे, कालिज, लाटोकोसेरो, ढुकुर, चिल, हाँस लगायत ३ सय प्रजातिका चरा र कस्तुरी, रेडपाण्डा, मृग, घोरल, रतुवा, बन्यजन्तु र गुच्ची च्याउ, पाँचआंैले, जटामासीलगायत १८ किसिमका जडिबुटी रारा क्षेत्रमा पाइन्छ ।

 

तपाईंको बिचार