च्यातिएको जुत्ताले धानेको जीन्दगी

२४ बर्ष देखि जुत्ता सिलाउदै डडेलधुराका ठगी सार्की

प्रकाशित मिति: 2017-01-04
ललित बोहरा, अमरगढी एफएम

डडेल्धुरा । अमरगढी नगरपालिकाका २ जोसिनाका ६३ वर्षिय ठगी सार्की । उहाँले जुत्ता सिलाउन थालेको २४ वर्ष भयो । च्यात्तिएका जुत्ता सिलाएर जीवन धानिएको छ । न चिसो न गर्मी । हरेक दिन बिहान ७ बजे बसपार्क एक छेउमा जुत्ता सिलाउन बस्नु उहाँको दैनिकी बनेको छ ।

विद्यालय जाने उमेरमा दलितले विद्यालय जानु हुदैन  भन्ने गतल संस्कारका कारण उहाँ रोकिनुभयो । अध्ययन गर्ने सपना अधुरै भएपछि, बाउबाजेले गरिआएको पेशा, ठगीको पनि जीवन गुजाराको सारथी बनेको छ । अनि धानिएको छ सिंगो परिवार । 

आफुले सिकेको सिपलाई उपयोग गर्दै जीवन धान्न पाएकोमा गर्व छ उहाँलाई । च्यातिएको जुत्ताले आफ्नो जीवन सिलाईरहनु भएका उहाँ भन्नुहुन्छ, देखेको भन्दा लेखेको हुने रहेछ , च्यातिएको जुत्ताले मलाई र मेरो सारा परिवारको जीवनलाई बोकिरहेको छ । 


घरमा सावरका जुत्ता निर्माण गर्ने उहाँको पुस्तेनी पेशा हो ।  करिब १०÷१५ वर्ष पहिले घरमै निर्माण गरेका सावरका जुत्ताहरु एक सय देखि ३ सय रुपैया सम्ममा विक्रिबितरण गरेको  उहाँको अनुभव छ । 

तर समयसंगै उहाँको श्रमको मूल्य पनि बढेको छ । अहिले घरमै निर्माण गरेको सावरको जुत्ता दुई हजार देखी पच्चिस सय रुपैया सम्ममा विक्रि हुन्छ । शुरु, शुरुमा बसपार्कम बसेर जुत्ता सिलाउदा हेयका दृष्टिले हेर्नेहरु पनि थिए ।

वरपरका अरु व्यापारीहरुले पनि नहोच्याएका होईनन्, तर समयसंगै उहाँलाई गर्ने व्यवहार पनि फेरिदै गएको छ । यसको मुख्य कारण उहाँको मीठो बोली र काम प्रतिको लगाब नै हो । 

समाज परिवर्तनसंगै फेरिदै गएको मान्छेको सोच देखेर उहाँलाई अहिले खुसी लाग्छ ।  जुत्ता सिलाएर दैनिक  पाँच देखी एक हजार कमाउन उहाँलाई गाह्रौ छैन । तर खटिनु भने खुब पर्छ । काममा लाग्दा घर  सम्म पुगेर खाना खाने फुर्सद हुदैन उहाँलाई । बिहान निस्किएर घर पुग्ने बेलुकी मात्रै हो ।  जीवनको उर्जाशिल समय च्यातिएका जुत्ता सिलाएरै बिताएका बिताउनुभएका ठगिको कामप्रतिको लगाव सिक्न लाएक छ । 
 
अब घरमा नै सावरका जुत्ता बनाएर बस्ने धोको हो उहाँको ।  तर कच्चा पदार्थको अभाव छ । पाईए पनि मंहगो रकम तिरेर ल्याउनुपर्छ । मंगोमा कच्चा पदार्थ किनेपछि जुक्ता मंहगोमा बेच्नुपर्छ, बजारमा सस्तो खोज्छन् । 

त्यसैले घरमा नै बनाईने जुत्ता हराउला कि भन्ने चिन्ता छ उहाँमा । बाकसमा गर्दै आएको व्यापार सटर सम्म पुर्याउने धोको पनि उहाँको मनमा नै छ । तर आज सम्म भने जसो भएको छैन । तर उहाँको अथक मिहनेत र प्रयास कत्ति पनि कम भएको छैन । 

 

तपाईंको बिचार