काठमाडौँ । बाँदर वर्गलाई बिदाई र चरा वर्गलाई स्वागत गरेर गुरुङ समुदायले आज तमू ल्होसार पर्व मनाउँदैछन् । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात छोटिदै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ ।
गुरुङ भाषामा ल्हो को अर्थ वर्ष र सारको अर्थ नयाँ हो। ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । यस पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । काठमाडौंको टुंडिखेलमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
राष्ट्रपतिको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको तमू ल्होसारका अवसरमा शुभकामना दिनु भएको छ । गुरुङ समुदायको यो पर्वले सबैमा उत्साह र उमंग कायम गरी हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवर्धनमा योगदान पुर्याउन सकोस् भन्ने कामना गर्दछु। राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा उल्ले छ ।
सबै नेपालीबीच आपसी एकता र सहिष्णुता कायम भई समृद्ध मुलुकको निर्माण गर्न सकियोस् भन्ने पनि शुभकामना सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले तमु (गुरुङ) जातिले नयाँ वर्ष तथा बाँदर वर्ग (प्र ल्हो) को अन्त्य भएर चरा वर्ग (च्यो ल्हो) को आरम्भ भएको अवसरमा मनाइने तमु ल्होसार÷ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री द्वारा जारी शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख छ ।
'जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो ।'
प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ 'यसका लागि सरकार सम्वाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको छ । यस अवसरमा तमु जाति तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न हार्दिक अपील गर्दछु ।'
तपाईंको बिचार