काठमाडौं । नेपाल जेसिजको आगामी अधिवेशनमा युवाको बर्चस्व हुने देखिएको छ । युवा व्यवसायी विष्णु बरालले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । जेसिजको ४३औँ अधिवेशन मंसिर २५ देखि २८ गतेसम्म काठमाडौंको टोखामा हुँदै छ । सन् १९९९ मा धरान जेसिजमा सदस्यका रूपमा प्रवेश गरेका बराल धरान जेसिजको अध्यक्ष हुँदै राष्ट्रिय कार्यकारी उपाध्यक्षसमेत भइसकेका छन् ।
जेसिजमा १८ वर्षदेखि क्रियाशील बराल सामाजिक काम र व्यवसायमा लाग्दै आएका छन् । युवाको सबलीकरण र सशक्तीकरणका लागि आफूले जेसिजको राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएको बरालले बताए । ‘अहिलेको समय युवाहरूको हो, सबै क्षेत्रमा युवाको प्रतिनिधित्व र नेतृत्वका लागि म सधैँ अगाडि उभिन्छु,’ उनले भने ।
युवामा उद्यमशीलता र व्यवसायको विषयमा प्रोत्साहन आवश्यक भएको र सो विषयलाई राष्ट्रियदेखि अन्तराष्ट्रिय मञ्चमा आफूले पुर्याउने उनले बताए । जेसिज प्रजातान्त्रिक अभ्यासमा चल्ने भएकाले आफूले चुनावी अभियानमा देश दौडाहा गरेर युवाहरूको अभिमत बुझेको उनले बताए ।
तपाईंको बिचार