बाबुको काजक्रियामा छोरी

फेरिंदै समाज

प्रकाशित मिति: 2016-12-05
पूर्णप्रसाद न्यौपाने, सहयात्री रेडियो

ओखलढुंगा । छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटवालले चुनौती दिनुभएको छ । नसा सम्बन्धी रोगका कारण बुबा रामजी कटवालको ५७ वर्षको उमेरमा मंसिर १४ गते निधन भएपछि इन्दिरा आफैँ बुबाको किरीयापुत्री बन्नुभएको हो ।

आमाले ३ वर्षको हुँदा छोडेर हिँडेपछि बुबासँगै बस्दै आउनुभएकी इन्दिराले बुबाको निधनपछि आफ्नो बुबाको किरीया आफैँ गर्ने भनेपछि सहयोग गरेर उहाँलाई नै काममा राखिएको ईन्दिराका काका कुल बहादुर कट्वालले बताउनुभयो । १८ वर्षिया ईन्दिरा परिवारकी एक्ली छोरी हुनुहुन्छ ।

करिब एक दशक अघि देखि उपचार गराईरहनुभएका रामजी कटवालको उपचारकै क्रममा मंसिर १४ गते ओखलढुंगा सामुदायिक अस्पतालमा निधन भएको थियो । उपचार गराउँदा गराउँदै भएभरको सबै सम्पत्ती सकिएपछि अस्पतालले पछिल्लो समय निशुल्क उपचार गरिदिएको थियो ।

छोरा छोरा भनेर दौडिने नेपाली समाजलाई चुनौति दिन र बाँचुन्जेल चासो नदिने अनि मरेपछि किरीया गर्न मात्र जम्मा हुने नेपाली समाजलाई चुनौती दिन आफ्ना स्वर्गीय बुबाको अन्त्येष्टि लगायतका सम्पूर्ण क्रियाकर्म आफैंले सुरु गरेको इन्दिराको भनाई छ ।

तपाईंको बिचार