छाउगोठमा डम्बराको मृत्युबारे प्रधानमन्त्रीकोे चासो

प्रकाशित मिति: 2016-11-19

काठमाडौं । अछामको तिमिल्सेन गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षे महिलाको ज्यान गएको घटनाप्रति प्रधानमन्त्रीले चासो व्यक्त गर्नु भएको छ । प्रधानमन्त्रीको निर्देशनमा उहाँको सचिवालयले अछामका प्रमूख जिल्ला अधिकारी कुशलराज शर्मासँग यसबारेमा टेलिफोन गरी घटनाको बारेमा जानकारी लिएको हो । 

छाउपडी गोठमा बसेकी २१ वर्षीय डम्बरा उपाध्यायको मृत्यु भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले घटनाबारे चासो लिएको हो । आज (शनिबार) दिउँसो प्रधानमन्त्रीको सचिवालयले प्रमूख जिल्ला अधिकारी शर्मालाई फोन गरी घटनाको बारेमा यथार्थ जानकारी गराउन भनेको छ ।

छाउपडी प्रथाजस्तो कुरिता अन्त्यका लागि यथाशिघ्र सरोकारवालाहरुको बैठक बोलाएर जागरण अभियान सञ्चालन गर्न र सामाजिक क्षेत्रमा क्रियाशील एनजिओ, आइएनजिओहरुलाई सेमिनार र गोष्ठीमा मात्रै रकम खर्च गर्ने परिपाटी तोडेर जनचेतनामूलक कार्यमा लाग्ने वातावरण बनाउन पनि निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

टेलिफोनमा प्रमूख जिल्ला अधिकारी शर्माले घटनाको यथार्थ बुझेर आवश्यक जानकारी गराउने बताउँदै छाउपडी प्रथा अन्त्यका लागि आफ्नो तर्फबाट सरोकारवालाहरुको बैठक बोलाएर प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । 

 

तपाईंको बिचार