काठमाडौं । तिहारको अन्तिम दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५२ मिनेटको समय उत्तम रहेको बताउनुभयो । सीआइएनसँग कुराकानी गर्दै उहाँले तर टीका दिनभर लगाउन कुनै बाधा नहुने बताउनुभयो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भएपनि गत वर्षको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्बिर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
तपाईंको बिचार