काठमाडौं । तिहारका अवसरमा खेलिने परम्परागत देउसी भैलोमा पछिल्लो समय आधुनिकीकरणको प्रभाव बढेको छ । पछिल्लो समय रेकर्ड भएका गीत तथा पाश्चात्य संस्कृतिको प्रभाव देउसी भैलोमा ह्वात्तै बढेपछि देउसी भैलोमा मौलिकताको प्रश्न उठ्न थालेको छ ।
कात्तिक कृष्णपक्षको औंशी तिथीको दिन भैलो र त्यसको भोलीपल्ट देउसी खेल्ने चलन छ । हुन त हिजोआज हप्ता वा महिना दिन अगाडी देखि नै समूह बनाएर देउसी भैलो खेल्दै हिड्ने गरेको पनि देखिन्छ । तिहारको बेला यसरी खेलिने देउसी र भैलोको सुरुवात कहिलेबाट भयो होला ? देउसी खेल्ने परम्परा नेपालको प्राचिन सभ्यता कोशी सभ्यता सँगै विकास भएको लोक सँस्कृतिका अध्येताहरु बताउँछन् ।
नेपाली लोक संस्कृती र लोक संगीतका अध्येता नविन खड्का परापूर्व कालमा बृहत किरात राज्यका राजा बलिहाङले कात्तिक औशीको राती दिपावलीका कारण आफ्नो मृत्यु टरेको खुशीयालीमा देशभर उत्सव मनाउन आदेश दिएका र त्यही समयबाट देउसीको सुरुवात भएको बताउनुहुन्छ ।
यसरी सुरु भएको देउसीको परम्परा विस्तारै बदलिदै गएको छ । पहिले देउसी भैलो खेल्दा सबैले लोकगीत आफैले गाउने, मुरली, मादल, खैजडी, झयाली, टयाम्को लगायतका मौलिक बाजाहरु बजाउने गर्दथे । हिजोआज भने हिन्दी र नेपाली चलचित्र, आधुनिक तथा पप गितमा नाचेर देउसी भैलो खेल्ने गरिन्छ । न त भैलीहरुले मादल बोकेका हुन्छन् न मुरली र खैजडी नै ।
ठूला ठूला साउन्डबक्समा गित बजाउँदै देउसे र भैली खेल्दै हिड्छन् । लोक गाएक पशुपति शर्मा अहिलेको अवस्था आउनुमा कलाकारको समेत दोष देख्नु हुन्छ । मौलिक पहिचान बोकेको देउसी भैलोमा विकृति भित्रिएको भन्दै लोक सँस्कृतिका अध्येताहरु चिन्तित छन् ।
देउसी भैलोलाई मनोरञ्जनसँगै पुराना संस्कृतिको संरक्षण र सामाजिक काममा सहयोग जुटाउने माध्यम पनि बनाइन्छ, जुन सकारात्मक पक्ष हो । परम्परागत यस्ता चाडपर्वलाई आफ्नो मौलिकता नहराउने गरी मनाउन सके मात्रै साँस्कृतिक महत्वले जीवन्तता पाउँछ ।
सिस्नुपानीले फरक रुपमा मनाउँदै
सिस्नुपानी नेपालले हरेर बर्ष फरक शैलीमा देउसी मनाउँदै आएको छ । आइतबार नेपाल प्रज्ञा, प्रतिष्ठान र सिस्नुपानी नेपालले आयोजना गरेको ‘प्रज्ञा, सिस्नुपानी देउसी’मा कवि, कलाकारहरुको प्रस्तुतिपछि नेताहरुबीच मन्तव्यकै माध्यमबाट मञ्चमा घोचपेच चल्यो । कार्यक्रममा अथितिका रुपमा रहनुभएका काग्रेस नेता रामचन्द्र पौडेलले कलाकारहरुले देउसी भट्याइ मार्फत हानेको सिस्नुपानीतर्फ संकेत गर्दै त्यसले आफूलाई नपोल्ने बताउनुभएको थियो ।
‘सिस्नुपानीले धेरैलाई चर्हयाएको होला, धेरैलाई भतभती पोलेको होला’, नेता पौडेलले भन्नुभएको, ‘छाला मेरो साह्रै पातलो भए पनि सिस्नुपानीले मलाई पोल्ने गरेको छैन । त्यसपछि मन्तव्य दिदै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेता पौडेललाई इंगित गर्दै अहिले भूमिकाविहीन अवस्थामा सिस्नुपानीको प्रहारबाट जोगिए पनि कुनै दिन सिस्नुपानीको निशानामा पर्न सक्ने भन्दै सजग गराउनुभयो ।
रामचन्द्रजीले मलाई सिस्नुपानीले छुँदैन भन्नुभयो’, प्रचण्डले भन्नुभयो, प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ । यस्तै कार्यक्रममा उपस्थित एमाले अध्यक्ष केपी ओलीले कलाकारले देउसी भाकामा औंल्याएको राजनीतिक बेथिति र दिशाहीनता अर्को वर्षसम्ममा हटोस् भन्ने कामना गर्नुभयो ।
तपाईंको बिचार