आफ्ना घोषणा आफैं बिर्सन्छन् प्रधानमन्त्रीहरु (अडियो )

काम कति भयो अनुगमन गर्ने संयन्त्र छैन

प्रकाशित मिति: 2016-10-21
राजन रुचाल
बुधबार संसदमा संबोधनका क्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड ।
बुधबार संसदमा संबोधनका क्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड ।

संबोधनका क्रममा लोकप्रिय सपनाका तानाबाना बुन्नेहरु कार्यान्वयन पक्ष फितलो हुनुका पछाडी देशको परिस्थितीलाई दोष लगाउँदै उम्कने गरेका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल राजनितिक अस्थिरता र सरकार परिवर्तन भईरहनाले घोषणा गरिएका सबै काम सम्पन्न गर्न नसकिने बताउनुहुन्छ ।


काठमान्डु । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संसदमा बुधबार गर्नुभएको संबोधन दोस्रो पटक प्रधानमन्त्री भएपछिको दोस्रो थियो । संबोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले झण्डै डेढ महिना अघि आफैंले घोषणा गरेका कतिपय योजना कार्यान्वयनको चरणमा अघि बढिरहेको बताउनुभयो । तर ति योजना कुन कुन थिए र कति प्रगति भयो त्यो भने बताउनुभएन ।


यसअघिको संबोधनमा घोषणा गरिएका केहि लोकप्रिय कार्यक्रम मध्येको एक  ६ महिनाभित्र एक सयवटा लामा र स्तरीय ठूला बस खरिद गरी काठमाडौँबाट विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, नारायणघाट, भैरहवा लगायत सहरमा नगरपालिकामार्फत सञ्चालन गर्ने योजना कार्यान्वयनको कुन चरणमा छ, प्रधानमन्त्रीको पछिल्लो संबोधनका क्रममा सुन्न पाईएन । यस्ता कयौं कार्यक्रमहरु छन्, चर्चा बटुल्न घोषणा गरिएका छन् । तर घोषणा अनुसार कार्यान्वय भने शुन्य प्राय छ ।


गणतन्त्र स्थापनापछि पुष्प कमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली र फेरि प्रचण्ड गरी आठौं पटक कार्यकारी प्रमुख फेरिइसकेका छन् । प्रत्येक प्रधानमन्त्रीले आफ्नो कार्यकालमा राष्ट्र वा जनताका नाममा भन्दै सम्बोधन गरेर त्यस सरकारका प्राथमिकताहरू सार्वजनिक गर्ने गरेका छन् । तर, कार्यान्वयन पक्ष नियाल्ने हो भने गफ धेरै कार्यान्वयन कम देखिन्छ ।


प्रधानमन्त्री भएका बेला चर्चा कमाउन लोकप्रिय कार्यक्रमहरु घोषणा हुने पुरानै चलन हो । तर ति कार्यक्रम कति पूरा हुन्छन्, कति अधुरा रहन्छन् त्यसको अनुगमन गर्ने संयन्त्र स्वयम् प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा हुँदैन । त्यसकारण पनि घोषणा भएका कार्यक्रमहरुको अवस्था के छ र कार्यान्वयन भयो भएन थाहा नहुने पूर्व सचिव कृष्णहरी बास्कोटाले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले घोषणा गरेका कार्यक्रम हेर्ने एक जना सचिवको व्यवस्था गर्नुपर्छ । उसले  समय समयमा घोषणा गरिएका कामको अवस्थाको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराए धेरै हदसम्म समस्या समाधान हुन्छ ।
 

गणतन्त्र स्थापना भएपछिका हरेक प्रधानमन्त्रीले संबोधनका क्रममा घोषणा गर्ने लोकप्रिय कार्यक्रमको फेहरिस्त निकै लामो छ । त्यसको कार्यान्वयन हुने हो भने देश समृद्ध बन्नेमा दुई मत छैन । तर संबोधनका क्रममा लोकप्रिय सपनाका तानाबाना बुन्नेहरु कार्यान्वयन पक्ष फितलो हुनुका पछाडी देशको परिस्थितीलाई दोष लगाउँदै उम्कने गरेका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल राजनितिक अस्थिरता र सरकार परिवर्तन भईरहनाले घोषणा गरिएका सबै काम सम्पन्न गर्न नसकिने बताउनुहुन्छ । प्रधानमन्त्रीहरुले बढि महत्वकांक्षी भएर पूरा गर्न नसकिने कुरा बोलिदिनाले पनि समस्या निम्त्याएको खनालको भनाई छ ।


समय बित्दै जाने र प्रधानमन्त्रीले गरेका सम्बोधन कार्यान्वयन गर्ने निकायहरू त परै जाओस्, सम्बोधनकारी स्वयंले नै ती बाचा भुल्दै जाने नियतिको श्रङ्खला चलिरहेकै छ । सरकारलाई घचघचाउने काममा संसदको भुमिका महत्वपूर्ण हुने पूर्व मूख्य सचिव लिलामणी पौडेललेको भनाई छ ।


प्रधानमन्त्रीले घोषणा गरेका कार्यक्रम कार्यान्वयनको अबस्था अनुगमनको जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो । तर यस्ता कार्यक्रम मन्त्रालयमा पनि विषेश प्राथमिकतामा पर्दैन । त्यसैले यसपटक भने प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अनुगमन संयन्त्र बनाएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले बताउनुभयो ।


समय बित्दै जाने र प्रधानमन्त्रीले गरेका सम्बोधन कार्यान्वयन गर्ने निकायहरू त परै जाओस्, सम्बोधनकारी स्वयंले नै ती बाचा भुल्दै जाने नियतिको श्रङ्खला चलिरहेकै छ । सरकारलाई घचघचाउने काममा संसदको भुमिका महत्वपूर्ण हुने पूर्व मूख्य सचिव लिलामणी पौडेलको भनाई छ । संसदमा प्रधानन्त्रीले आफुले घोषणा गरेका कार्यक्रमहरु कति कार्यान्वयन हुँदैछन् ? कति भएनन् ? किन भएनन् ? हरेक कुराहरुको जवाफ दिनुपर्ने पौडेलले बताउनुभयो ।


तर परिस्थिति फरक छ । घोषणा अनुसार काम किन भएन ? छिटो छिटो सरकार परिवर्तन भएर । यो घोषणाकर्ताहरुको सहज जवाफ हो । यसभित्र लुकेको पाटो सस्तो लोकप्रियताका लागि कार्यक्रम घोषणा गर्ने, काम नथाल्ने र थालिहाले पनि पुरा नहुने कारणले होला नेताहरुले जति नै वाककला प्रयोग गरेर आकर्षक तरिकाले भाषण गरेपनि नागरिकले कम चासो दिन थालेका छन् ।

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार