स्वस्थ खसी–बोका चिन्ने कसरी ?

प्रकाशित मिति: 2016-10-07
राजन रुचाल

काठमान्डु । दशैंका लागि काठमान्डु उपत्यकामा मात्रै ७० हजारको हाराहारीमा खसी–बोका र च्याङ्ग्रा भित्रिएको छ । नेपाल खाद्य संस्थान र चौपाय व्यवसायी संघले उक्त परिमाणमा खसी–बोका ल्याएका हुन् । दशैंको समयमा राजधानीमा खसी–बोकाको माग उच्च हुने भएकाले व्यवसायीहरुले नेपालका विभिन्न स्थान र भारतबाट समेत खसीबोका ल्याएका छन् ।


दशैंका लागि नेपाल खाद्य संस्थानले तीन हजार भन्दा बढि खसी–बोका तथा च्याङ्ग्रा काठमान्डु भित्राएको छ । यता व्यवसायीहरुले भने ६५ हजार भन्दा धेरै खसी–बोका काठमान्डु ल्याएको चौपाय व्यवसायी संघका केन्द्रीय सदस्य बलराम कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसायीहरुले ल्याएका खसी–बोका मध्य ८० प्रतिशत भारतबाट ल्याईएको छ । नेपालमा मासुका लागि कुखुरापछि खसी–बोकाको माग उच्च भएपनि उत्पाद भने न्युन मात्रामा छ ।  

खाद्य संस्थानले ल्याएका खसी–बोका तथा च्याङ्ग्रा सुपथ मूल्यमा विक्रि गरिरहेको छ । यता व्यवसायीहरुले भने संस्थानको भन्दा केहि महङ्गो मूल्यमा विक्री गरिरहेका छन् । नेपालका विभिन्न पहाडी जिल्ला तथा चितवन मकवानपुर लगायतका जिल्लाबाट व्यवसायीहरुले खुसी–बोका ल्याउने गरेका छन् । त्यस्तै च्याङ्ग्रा भने मनाङ मुस्ताङ लगायतका हिमाली जिल्लाबाट ल्याउने गरिएको छ । यसका साथै खसीबोका भारतको लखनउ, कर्नाटक लगायतका विभिन्न स्थानबाट समेत ल्याईएको छ ।

दशैंमा प्राय सबैको घरमा खसी–बोका काट्ने चलन छ । गाउँघरमा आफ्नै घरमा पालेको खसी–बोका काट्ने गरिएपनि शहर बजारमा भने बाहिरबाट किनेर ल्याएको खसी–बोका काट्ने गरिन्छ । बाहिरबाट किनिएका खसीबोका कति स्वस्थ होलान ?

त्यसैले खसी–बोका किन्दा स्वास्थ्य अवस्था तथा मोटाई लगायतका विषयमा ख्याल गर्नु बुद्धिमानी हुने पशुचिकित्सकहरुले बताएका छन् । अस्वस्थ खसीबोकाको मासु खानाले विभिन्न रोगी पशुबाट मानिसमा समेत जुनोटिक रोग सर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

कस्ता खसी–बोका किन्ने ?

दशैं नजिकिंदै गर्दा राजधानीका सडक र बजारहरुमा चहल पहल बढ्दो छ । लुगालत्ता किन्नेदेखि जीउँदै खसिबोका, च्याङग्रा डो¥याउँदै हिड्नेहरु पनि भेटिन्छन् । खसीबोकाको बजारमा पनि मानिसहरुको भीडभाड बढ्दैछ ।

सयौं खसीबोका बेच्न राखिएको ठाउँबाट उपभोक्ताले रोजीबिनी किन्न पाउने सुविधा भए पनि आफुले किनेको खसी बोका कति स्वस्थ छन् भन्ने बारे स्वयम् उपभोक्ता पनि जानकार छैनन् ।

गाउँगाउँबाट खरिद गरेर ल्याईएका खसीबोका रोगी छन् कि निरोगी भन्ने बारे ब्यापारीहरुलाई पनि थाहा नहुने दोलखाका इश्वर खड्का बताउनुहुन्छ । तर कतिपय व्यापारी भने आफुहरुले स्वस्थ खसी बोका नै खरिद र बिक्रि गर्ने दावी गर्ने गरेको दावी समेत गर्छन ।

तर काठमान्डुका विभिन्न खसी बजारमा बागबजारमा विक्री भइरहेका सबै खसी बोका स्वस्थ देखिंदैनन् । झट्ट हेर्दा  फुर्तिलो खालको खसी बोका किन्न राम्रो पशुचिकित्सक सुलोचना श्रेष्ठ बताउनुहुन्छ ।

आँखामा चिप्रा बसेको, लामो लामो रौं भएको, सिंगान बगाउने, खोक्ने समस्या देखिएका खसीबोका किन्न राम्रो नहुने उहाँको भनाई छ । चिकित्सकहरुका अनुसार उपभोक्ताले अति दुब्लो, आँखा आवश्यकता भन्दा बढी रसिलो भएको, झोक्य्राएका लगायत विशेषता भएका खसीबोका किन्नुहुँदैन ।

जीउँदा खसीबोका हेरेर नै त्यसको स्वस्थता अनुमान लगाउन सकिने भए पनि ढुक्क हुने स्थिती हुँदैन ।

 

 

तपाईंको बिचार