चन्द्रागिरिमा फस्टाउँदै प्राकृतिक र धार्मिक पर्यटन

केवलकार सञ्चालनपछि आउजाउमा सजिलो

प्रकाशित मिति: 2016-08-26

काठमाडौं । काठमाडौंको चन्द्रागिरि डाँडाको बारेमा तपाईहामी मध्ये धेरैले इतिहास पढेका हौंला, पृथ्वीनारायण शाहले ससुरालीगाउँ मकवानपुर जानेक्रममा चन्द्रागिरि डाँडामा पुगेपछि काठमाडौं देखे र मनमोहक उपत्यका कब्जा गर्ने योजना बनाए । 

पृथ्वीनारायण शाहको उपत्यका कब्जा गर्ने योजना बनेको धेरैले पढे पनि यही डाँडामा सतीदेवीको निधार पतन भएको र भालेश्वर महादेवको उत्पत्ति भएको भन्ने जनविश्वासका बारेमा थोरैलाई जानकारी हुन सक्छ । 

दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई महादेवले बोकेर हिंड्दा सतीदेवीको भाल अर्थात निधार पतन भएको त्यस ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्न भएको भन्ने पौराणिक कथन छ ।

भालेश्वर महादेवले भक्तजनको मनोकांक्षा पूरागर्ने जनविश्वासका आधारमा चन्द्रागिरि डाँडामा अवस्थित यस मन्दिरलाई ‘इच्छापुरेश्वर’ वा ‘इच्छेश्वर’ को नामबाट पनि चिनिन्छ । 

इतिहास र धार्मिक महत्व बोकेको यस क्षेत्रको प्रवद्र्धनका लागि भन्दै चन्द्रागिरि हिल्स लिमिटेडले केबलकार सञ्चालन गरेको छ ।

चन्द्रागिरि हिल्स अन्तर्गत आइएमई समूहका जनसम्पर्क व्यवस्थापक राजु पौडेलका अनुसार थानकोट वेसक्याम्प र चन्द्रागिरि डाँडामा अझै पनि भौतिक संरचना निर्माणको काम भइरहेको छ । केवलकारलाई चुस्त बनाउन प्राविधिकहरुले काम गरिरहेको उहाँले बताउनुभयो । 

अत्याधुनिक अष्ट्रियन प्रविधिको प्रयोग गरेरे निर्माण गरिएका ३८ वटा गोन्डोला ( केबुलकार) ले चन्द्रागिरिको डाँडामा ९ देखि १४ मिनेटमा पु¥याउँछ । निर्माण कार्य जारी रहेका कारण चन्द्रागिरि पुग्ने समयावधी हालको अवस्थामा अलि बढि हुन सक्ने जनसम्पर्क व्यवस्थापक पौडेलको भनाइ छ ।

प्रतिकुल मौसममा भने केवलकार आफै रोकिने प्रविधिको जडान गरिएको पनि उहाँले बताउनुभयो । थानकोटको आधारशिविरबाट चन्द्रागिरिसम्मको दुरी केवलकारबाट साढे २ किलोमिटर छ । चन्द्रागिरिको चुचुरोबाट देखिने मनोरम हिमशृंखला एवं उपत्यकाको दृश्य पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणका केन्द्रमा पर्ने गरेका छन् ।

चन्द्रागिरि हिल्स प्रालिका अनुसार बालबालिकाको मनोरन्जनका लागि बाल उधान, छुट्टी मनाउनेका लागि बार, सभा (सम्मेलनका लागि थ्री डी हल र भ्यु टावर रेष्टुरेन्ट निर्माणको काम पनि भइरहेको छ । 

छिनछिनमै बदलिरहने मौसम पनि चन्द्रागिरि चुचुरोको अर्को विशेष्ता हो । चन्द्रागिरिको केबलकारमा आउनजान ७ सय  रुपैयाँ भाडा लाग्छ ।

आइडी कार्ड भएका विद्यार्थी, थानकोटका स्थानीय बासिन्दा, ३ फिटभन्दा होचा बालबालिका र अपांगहरुलाई विशेष छुटको प्रवन्ध समेत गरिएको चन्द्रागिरी हिल्सका विक्री तथा बजार व्यवस्थापक विख्यातविक्रम राणाले बताउनुभयो । 

 

तपाईंको बिचार